विराटनगर– सामाजिक सञ्जालको दुरुपयोग गरी सर्वसाधारणलाई ठगेको आरोपमा धनुषा, सर्लाही र महोत्तरीका सात युवकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा धनुषाधाम–१ का २३ वर्षीय सुरज साह,२० वर्षीय राम कुमार महरा, क्षिरेश्वरनाथ–२ का २२ वर्षीय श्याम सुन्दर महरा, सर्लाही बरहथवा–७ का २२ वर्षीय नितेश कुमार साह, महोत्तरी गौशाला–१ का २२ वर्षीय रोशन साह, २१ वर्षीय सुधिर कुमार महतो र गौशाला–२ का १९ वर्षीय अमित साह छन्।
उनीहरूको साथबाट बरामद गरिएको मोबाइलबाट विभिन्न बैंक, वित्तीय संस्था तथा वालेट आईडीहरू समेत गरी १८७ वटा खाताहरूको विवरण फेला परेको छ। उक्त खाताहरूबाट हालसम्म २ करोड ६३ लाख ९३ हजार १९१ रुपैयाँ ८ पैसा कारोबार भएको समेत अनुसन्धानको क्रममा खुलेको छ।
सामाजिक सञ्जालमार्फत मोबाइल, लत्ताकपडा लगायतका सामग्रीहरू सस्तोमा दिने भन्दै सर्वसाधारणलाई विश्वासमा पारेर ठगिरहेको भन्ने उजुरीको आधारमा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार उनीहरूले २१ वटा सामाजिक सञ्जाल एकाउन्ट तथा पेजहरूको प्रयोग गरी ठगी गरेका थिए। सामाजिक सञ्जालमा पोस्ट गरिएका सामानहरूको फोटो तथा भिडियोहरूबाट सर्वसाधारणले सामान खरिद गर्ने भनी सम्पर्क गर्दा अग्रिम भुक्तानी गर्नुपर्ने भन्दै रकम पठाउन लगाउने गरेका थिए।
साथै सर्वसाधारणको नाममा बैंक, वित्तीय संस्था तथा वालेटहरूमा खाता खोल्न लगाइ सोही खाताहरूमा अनलाइन माध्यमबाट रकम पठाउन लगाउने गरेको खुलेको छ। उनीहरू विरुद्ध ठगी कसूरमा धनुषा जिल्ला अदालतबाट म्याद थप अनुमति लिइ आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।