विराटनगर — भारत र पाकिस्तानबीचको सीमा तनाव पुनः उच्चतम स्तरमा पुगेको छ। भारतीय रक्षा मन्त्रालयले पाकिस्तानले ड्रोन र क्षेप्यास्त्र प्रयोग गरेर भारतका सैन्य अड्डाहरूलाई लक्षित गर्ने प्रयास गरेको बताएको छ। त्यस्तै पाकिस्तानले पनि २५ वटा भारतीय ड्रोनहरू नष्ट गरिएको दाबी गरेको छ।
भारतको रक्षा मन्त्रालयका अनुसार, पाकिस्तानले जम्मु, श्रीनगर, पठानकोट, अमृतसर, लुधियाना लगायतका विभिन्न स्थानहरूमा ड्रोनमार्फत आक्रमण गर्ने प्रयास गरेको थियो, जसलाई भारतको काउण्टर यूएएस ग्रिड र हवाई रक्षा प्रणालीले निष्क्रिय पारेको बताइएको छ। यद्यपि पाकिस्तानका ड्रोनका भग्नावशेष भारतको विभिन्न स्थानहरूमा भेटिएको र यसले पाकिस्तानको आक्रमणको पुष्टि गरेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
भारतीय रक्षा मन्त्रालयले भनेको छ कि भारतले पाकिस्तानको ड्रोन आक्रमणको जवाफ दिँदै पाकिस्तानका विभिन्न हवाई रक्षा र रडार प्रणालीलाई लक्षित गरेको छ। तैपनि भारतले ७ मईमा ‘अपरेशन सिन्धूर’ अन्तर्गत पाकिस्तानको सैन्य संरचनालाई लक्षित नगरेको स्पष्ट पारेको थियो।
पाकिस्तानले भारतका मोर्टार र तोप प्रहारका कारण १६ निर्दोष नागरिकको ज्यान गएको र ५७ जना घाइते भएको दाबी गरेको छ। तीमध्ये ३ महिला र ५ बालबालिकासमेत छन्। यस घटनामा अन्तर्राष्ट्रिय समुदायले शान्ति कायम गर्न दुवै राष्ट्रलाई आह्वान गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सक्दो सहयोग गर्ने संकेत दिएका छन्।सैन्य कारबाही र सीमामा उत्पन्न तनावलाई मध्यनजर गर्दै यो स्थिति विश्वभर चिन्ताको विषय बनेको छ, जहाँ द्विपक्षीय शान्तिको आवश्यकता अझै प्रगाढ देखिन्छ।