काठमाडौं – आकर्षक तलबको प्रलोभन देखाएर माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । सुर्खेतको वीरेन्द्रनगर-९ घर भई हाल काठमाडौंको बुढानिलकण्ठ-९ बस्ने ५१ वर्षीय प्रकाश बहादुर सिंहलाई प्रहरीले पक्राउ गरेको हो।

सिंहले एक व्यक्तिलाई माल्टा पठाउने प्रलोभनमा पारेर ७ लाख ७० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई बुढानिलकण्ठ नगरपालिका-६, सरस्वती कोलोनीबाट पक्राउ गरेको हो।

पक्राउ परेका सिंहलाई थप अनुसन्धान र आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ। यसअघि पनि माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने घटनाहरू सार्वजनिक भएका छन्। कास्कीको पोखरा महानगरपालिका-१३ घर भई हाल काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-१ सुन्दरबस्ती बस्ने ३८ वर्षीय प्रकाश गुरुङलाई प्रहरीले ६ लाख १८ हजार रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ गरेको थियो। गुरुङले माल्टामा प्रतिष्ठित होटलमा मासिक १ लाख २० हजार रुपैयाँ तलब हुने प्रलोभन देखाएर ठगी गरेका थिए।

त्यस्तै सिराहा नगरपालिका-१० घर भई काठमाडौं महानगरपालिका-३१ मध्यबानेश्वर बस्ने २८ वर्षीय मनोज काफ्लेलाई पनि माल्टा पठाइदिन्छु भन्दै ७ लाख ३० हजार रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ गरिएको थियो। प्रहरीले वैदेशिक रोजगारीका लागि आकर्षक प्रस्ताव राख्दै ठगी गर्नेहरूप्रति सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। वैदेशिक रोजगारीका लागि जाने क्रममा आधिकारिक तथा प्रमाणित संस्थामार्फत मात्र प्रक्रिया अघि बढाउन र कुनै पनि प्रलोभनमा नपर्न सुझाव दिइएको छ।