विराटनगर– भारत र पाकिस्तानबीचको तनावका बीच जम्मु–कश्मीरबाट फेरि एक पटक गोलीबारीको खबर आएको छ।श्रीनगरमा रहेका बीबीसी संवाददाता माजिद जहाँगीरका अनुसार कुपवाडाको करनाह र तंगधार, उरी र पुंछ क्षेत्रमा बेलुका ७ः२० बजेपछि गोलीबारी सुरु भएको हो।
समाचार संस्था एएनआईका अनुसार उरी सेक्टरमा गोली र विस्फोटका आवाजहरू सुनिएका छन्।यससँगै पठानकोटमा रहेका बीबीसीको टोलीले पनि विस्फोटको आवाज सुनेको बताएको छ।
यसअघि भारतीय विदेश मन्त्रालयको शुक्रबारको प्रेस ब्रीफिङमा कर्नल सोफिया कुरैशीले बिहीबार राति भारतका विभिन्न भागहरूमा भएका आक्रमणको जानकारी दिएकी थिइन्।सोफिया कुरैशीले भनिन्, ‘पाकिस्तानी सेनाले बिहीबार राति भारतका सैन्य संरचनालाई लक्षित गरी आक्रमण ग¥यो।’
उनका अनुसार पाकिस्तानतर्फबाट ३०० देखि ४०० ड्रोन पठाइएको थियो।पाकिस्तानका रक्षामन्त्रीले आक्रमण भएको भन्ने कुरालाई अस्वीकार गरेका थिए।
जम्मु–कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले जम्मुमा ब्ल्याकआउट भएको र साइरनका आवाजहरू सुनिएको जानकारी दिएका छन्।उमर अब्दुल्लाहले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्, ‘जम्मुमा ब्ल्याकआउट छ, पूरै शहरमा साइरनका आवाजहरू सुनिइरहेका छन्।’
अर्को पोस्टमा उनले लेखेका छन्, ‘जहाँ म छु त्यहाँबाट कहिलेकाहिँ ठूलो विस्फोट, सम्भवतः भारी तोपहरूको आवाज सुनिइरहेको छ।’उनले आग्रह गर्दै लेखेका छन्, ‘जम्मु र वरपरका सबै नागरिकहरूलाई मेरो विनम्र अनुरोध छ— कृपया सडकमा ननिस्कनुहोस्, घरमै बस्नुहोस् वा नजिकैको सुरक्षित स्थानमा रहनुहोस् जहाँ तपाईं केही घण्टा आरामले बस्न सक्नुहुन्छ।’
साथै उनले अफवाहमा ध्यान नदिन र आधारहीन वा पुष्टि नभएका कथाहरू नफैलाउन पनि आग्रह गरेका छन्।यसअघि बिहीबार राति पनि पाकिस्तान सीमा निकट जिल्लाहरूमा ब्ल्याकआउट र गोलीबारीको खबर आएको थियो।स्थिति तनावपूर्ण भएकाले आज पनि बेलुकादेखि धेरै जिल्लाहरूमा ब्ल्याकआउट गरिएको छ।