विराटनगर– भारत–पाकिस्तानबीचको पछिल्लो तनाव र क्षणिक युद्धको माहोलमा ‘युद्धको मैदान’ केवल सीमामा मात्रै सिमित रहेन, मूलधारको भारतीय मिडिया पनि अर्को मोर्चा बनेर सक्रिय देखियो—तर सत्यका लागि होइन, झुटको खेती र घृणाको व्यापारका लागि।

२०२५ को अप्रिल २२ मा जम्मु–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणपछिको अवस्था विश्लेषण गर्दा देखिन्छ कि भारतीय मिडियाले यथार्थभन्दा बढी कपोकल्पित र आक्रोशपूर्ण सामग्री सम्प्रेषण गर्यो। ‘आज तक’जस्ता मुख्य टेलिभिजन च्यानलले पाकिस्तानमाथि आक्रमण गर्नुअघिदेखि युद्धविरामसम्म पनि एकोहोरो अफवाह फैलाउन छोडेनन्।

अर्णव गोस्वामीको रिपब्लिक टीभीदेखि ‘जीन्युज’ र ‘टाइम्स नाउ’ सम्म ‘राष्ट्रियता’को नाममा वास्तविक पत्रकारितामाथि प्रहार गर्दै तथ्यविहीन युद्धोन्मुख वातावरण सिर्जना गरिरहे।भारतीय युट्युबर ध्रुव राठीकै शब्दमा ‘भारतीय टेलिभिजन च्यानलहरूले ९०% झूटको खेती’ गरे। युद्धको तनावको सन्दर्भमा यस्तो गैरजिम्मेवार र उत्तेजक पत्रकारिता यति चरममा पुग्यो कि भारत सरकार स्वयंले नै लाइभका नाममा अफवाहजन्य सामग्री प्रकाशन, प्रसारण र पोस्ट नगर्न चेतावनी दिनुपर्यो।

माफी माग्न बाध्य ’आज तक’
’आज तक’ जस्तो पुरानो र प्रभावशाली भनिने मिडिया संस्थाले अन्ततः झुट बोलिएको स्वीकार गर्दै सार्वजनिक रुपमा माफी माग्नुपर्यो । सीमावर्ती क्षेत्रबाट प्राप्त अपुष्ट विवरणलाई आधार मानेर रिपोर्ट तयार पारिएको भन्ने बचाउ गर्दै समाचार प्रसारण गरिए पनि त्यो खबर पूर्णतया फर्जी (फेक) ठहरियो। पाकिस्तानलाई ‘कुत्ते’ भन्ने गालीसम्म प्रयोग गरिएको थियो—यस्तो घृणित अभिव्यक्तिलाई पत्रकार आचारसंहिता र कूटनीतिक मर्यादा विपरीत मानिन्छ ।

नेपाल र चीनसमेत निसानामा
यो प्रवृत्ति भारतको सीमाभन्दा पर पनि फैलिएको छ। आज तक र अन्य च्यानलहरूले नेपालमाथि पनि पटक–पटक लाञ्छना लगाउने दुस्साहस गरेका छन्। कालापानी विवादका बेला चीनका राजदूत हउ यान्छीलाई प्रधानमन्त्री ओलीसँग जोडेर ‘कान्छी’ भन्ने अपमानजनक शैलीमा समाचार निर्माण गरियो। 

स्विस बैंकमा प्रधानमन्त्री ओली दम्पतीका करोडौं रुपैयाँ रहेको अप्रमाणित दाबी प्रसारण गरियो। त्यसबेला प्रेस काउन्सिल नेपालले भारतीय प्रेस काउन्सिललाई पत्र पठाउँदै यस्तो गैरजिम्मेवार पत्रकारितामाथि आपत्ति जनाउनुपरेको थियो।

‘गोदी मिडिया’को उपाधि
यस्तो पक्षपाती र नफरत फैलाउने पत्रकारिता गर्ने मिडियालाई अहिले भारतमै ‘मोदी मिडिया’ वा ‘गोदी मिडिया’ भनेर व्यङ्ग्य गरिन्छ। सरकारअनुकूल भजन गाउने र विरोधी दल वा वैकल्पिक मतधारालाई देशद्रोही वा आतंककारीको समर्थकको रूपमा प्रस्तुत गर्ने प्रवृत्ति झनै खतरनाक बन्दै गएको छ।

युद्धको वातावरणमा संयमता, सत्य र शालीनता पत्रकारिताको धर्म हो। तर भारतीय मूलधारको मिडिया अहिले त्यसको ठीक उल्टो दिशामा हिंडिरहेको देखिन्छ। तथ्यको परवाह नगर्ने, झुट बोल्न लाज नमानेका र वैरभाव फैलाउने यस्तो पत्रकारिता केवल सामाजिक सद्भाव र लोकतन्त्रका लागि मात्रै होइन, क्षेत्रीय स्थायित्वका लागि पनि घातक बन्न सक्छ।

अब समय आएको छ—जब जनताले चिच्याउने एंकरहरू होइन, प्रमाणमा आधारित, संयमित र जिम्मेवार पत्रकारिताको माग गर्नुपर्छ। पत्रकारिताको मूल धर्म सत्य हो—झुट होइन।

#मोदी #मिडिया#गोदी#मिडिया’