विराटनगर — अमेरिका र चीन आगामी ९० दिनका लागि ट्यारिफ (भन्सार शुल्क) स्थगित गर्न सहमत भएका छन्। सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै दुवै देशले यो निर्णय सार्वजनिक गरेका हुन्।

ट्यारिफ स्थगनसम्बन्धी खबर सार्वजनिक भएपछि मुद्रा बजारमा उल्लेखनीय परिवर्तन देखिएको छ। अमेरिकी डलरको मूल्य पाउन्ड, युरो र जापानी येनको तुलनामा बढेको छ भने चिनियाँ युआनको मूल्य पनि ती मुद्रासँगै डलरको तुलनामा समेत उकालो लागेको देखिएको छ।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले चीनसँग ट्यारिफ स्थगन गर्ने सहमति भएको र त्यसअनुसार भन्सार दरमा उल्लेखनीय गिरावट ल्याइने जानकारी दिएका छन्। चीनको वाणिज्य मन्त्रालयले पनि अप्रिल २ देखि अमेरिकाविरुद्ध लगाइएको सम्पूर्ण ‘जवाफी ट्यारिफ’ निलम्बन गरिएको पुष्टि गरेको बीबीसीले जनाएको छ।

हालसम्म अमेरिकाले चीनबाट आयात हुने वस्तुहरूमा अधिकतम १४५ प्रतिशत र चीनले अमेरिकाबाट आउने केही वस्तुहरूमा १२५ प्रतिशतसम्म ट्यारिफ लगाउँदै आएको थियो। मन्त्री बेसेन्टका अनुसार दुवै पक्षले आ–आफ्ना ट्यारिफमा अधिकतम ११५ प्रतिशतसम्म कटौती गर्ने समझदारीमा पुगेका छन्। सो निर्णय यही मई १४, बुधबारदेखि कार्यान्वयनमा आउनेछ।

चीनको वाणिज्य मन्त्रालयले भविष्यमा पनि व्यापारसम्बन्धी विषयमा अमेरिका र चीनबीच सहकार्यको अपेक्षा व्यक्त गरेको छ। मन्त्रालयका अनुसार भन्सार शुल्क कटौती ‘विश्वको साझा हितमा’ रहेको छ।