विराटनगर — विश्वको तेस्रो अग्लो शिखर कञ्चनजंघा (८,५८६ मिटर) आरोहणको क्रममा एक विदेशी महिला आरोहीको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार मृत्यु हुनेमा फ्रान्सेली नागरिक ६३ वर्षीया मारगेटा मोरिङ रहेको पुष्टि गरिएको छ। उचाइमा पुगेपछि स्वासप्रश्वासमा समस्या देखिएपछि उनको ज्यान गएको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अनुमति लिएर दुई जना फ्रान्सेली नागरिक कञ्चनजंघा हिमाल आरोहणका लागि आएका थिए। उनीहरू दक्षिणी मोहडाबाट आरोहण गरिरहेका थिए।
प्रहरीका अनुसार मोरिङको मृत्यु ८ हजार मिटरको उचाइ पार गरेपछि भएको हो। उनको शव हाल ७ हजार ५ सय मिटरमाथि रहेको याम्फुदिन प्रहरी चौकीले जनाएको छ।