दुहबी– दुहबी नगरपालिकाले निर्माण गरेको नगर आधारभुत अस्पतालको विधिवत उद्घाटनपछि सेवा सुरु भएको छ । १५ करोडको लागतमा नवनिर्मित १५ सैय्याको यो अस्पतालको सिलान्यास २०७८ साल माघ २ गते दुहबी नगरप्रमुख वेदनारायण गच्छादारले नै पहिलो कार्यकालमा गरेका थिए । प्रमुख गच्छदारले नै उक्त अस्पतालको उद्घाटन गरेर सेवा सुरु गराएका हुन् ।

नगर प्रमुख गच्छादारले ठूलो चुनौति र संघर्षका बावजुद अस्पताल सञ्चालन गरेको र यसलाइ निकट भविस्यमा मेडिकल कलेजसँग जोडेर दुहबीका नागरिकलार्इ सबै प्रकारको उपचार सेवा दिने र मेडिकल हवको रुपमा अगाडि बढाउने आफ्नो सपना भएको बताएका छन्। उनले प्राइभेट पब्लिक पार्सिटनरसीप मोडेलबाट स्वास्थ्य सेवा विस्तार गर्न काठमाण्डौ पनि असफल भएको तर दुहबी नगरपालिका सफल बनाएरै छाड्ने प्रतिबद्धता जनाए ।

दुहबी अस्पतालमा नगर प्रमुख स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत बिपन्न, दलित र सुकुम्बासीलार्इ ३ हजार रुपैयाँ नगरपालिकाले तिर्ने गरी स्वास्थ्य बिमा सगँ जोडेर सेवा प्रवाह गराएका उनले स्वास्थ्य सुधारमा उल्लेखनीय योगदान दिएको स्थानीयको भनाइ छ । दुहबी ११ मा करिब ३ विघा ६ कठ्ठा क्षेत्रफलमा सुबिधा सम्पन्न अस्पतालको भवन , बिशेसज्ञ सेवा, पोस्टमार्टम, क्यान्टिन, चिकित्सक आवास, शल्यक्रिया सेवा, आँखा, कान उपचार, स्त्रीरोग, हाडजोर्नी, प्रशुति सेवा, निःशुल्क एम्बुलेन्स सेवा, आक्स्मिक सेवा, सञ्चालनमा छन भने केही दिनमै बालरोग सम्बन्धि सेवा सुचारु हुने बताएका हुन् ।

करिब ६४ हजार जनसंख्या रहेको दुहबीमा एउटा सुबिधायुक्त अस्पताल नहुँदा दुहबीबासी टाउँको दुख्दा पनि विराटनगर धाउनु पर्ने बाध्यताको अब अन्त्य भएको नगर प्रमुख गच्छदारको भनाई थियो ।

पहिलो कार्यकाल देखि नै स्वास्थ्य, शिक्षा, पुर्वाधार, सडक, खानेपानी, आर्थिक आत्मनिर्भरता र स्वरोजगार क्षेत्रमा समेत उपलब्लिब्धीमूलक काम भइसकेको प्रमुख गच्छदारको भनाई छ । साप्ताहिक हाट, रंगशाला, कोल्ड स्टोर, फोहोर प्रशोधन केन्द्र, सपिङ कम्प्लेक्स, एग्रो प्रोशेसिङ सेन्टर, लगायत्का योजना निर्माणको अन्तिम चरणमा रहेको छ भने १२ वटै वडामा स्वास्थ्यचौकी, बर्थिङ सेन्टर, निःशुल्क आखाँको शल्यक्रिया, अपाङ्ग आत्मनिर्भर कार्यक्रम, उद्यमशिलतामार्फत लघु उद्यमि, सामूहिक कृषि, बंगुर पालन, तरकारी तथा च्याउ खेतीलगायत थुप्रै मानवी बिकासका लागि आत्मनिर्भरता र आर्थिक शसक्तीकरणका कार्यहरुसमेत गच्छादारले सफलता प्राप्त गरिसकेका छन् । कार्यक्रममा नगर अस्पताल स्थापना कालदेखि नै महत्वपूर्ण योगदान गर्ने कर्मचारीहरुलार्इ नगद ११ हजार र दोसल्लासहित सम्मान गरिएको थियो ।

उद्घाटन कार्यक्रमको अध्यक्षता वडा नम्बर ११ का अध्यक्ष खड्गनारायण उँराउले गरेका थिए । कार्यक्रममा उपमेयर मेनुका खतीवडा, बुढिगंगा गाउँपालिका अध्यक्ष जित नारायण थापामगर, प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा यदुचन्द्र घिमिरे, सुनसरीका सिडियो बासुदेव घिमिरे, जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सागर प्रसाइ, जिप्रका सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्र बहादुर खड्का लगायतको उपस्थितिमा अस्पताल उद्घाटन भएको हो ।