विराटनगर– नेपाल टेलिकम प्राधिकरणअन्तर्गतको ‘टेरामक्स’ प्रणाली खरिदमा ठुलो आर्थिक अनियमितता भएको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १८ प्रतिवादीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
विशेष अदालत काठमाडौँमा दायर गरिएको मुद्दामा ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बराबरको भ्रष्टाचार भएको दाबी गरिएको छ। प्रतिवादीमध्ये १५ जना नेपाली नागरिक, एक जना विदेशी नागरिक र दुईवटा कम्पनी छन्।
अख्तियारले मुद्दा दायर गरेसँगै बस्नेतको सांसद पद स्वतः निलम्बनमा परेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन अनुसार सार्वजनिक पदमा रहेका व्यक्तिविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि पद स्वतः निलम्बनमा पर्ने व्यवस्था छ।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार बस्नेतविरुद्धको मुद्दा दर्ताको जानकारी संघीय संसद् सचिवालयमा पठाउने प्रक्रिया अघि बढाइएको छ। ‘पत्र पुगेपछि संसद्ले प्रक्रिया अगाडि बढाउनेछ,’ उनले भने ।
यस्ता छन् अन्य प्रतिवादी
टेरामक्स प्रकरणमा अख्तियारले नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा, सदस्यहरू धनराज ज्ञवाली र टीकाप्रसाद उप्रेती, पूर्वअध्यक्ष पुरुषोत्तम खनाल, निर्देशक विजयकुमार राय, उपनिर्देशकहरू रेवतीराम पन्थ, सुरेश बस्नेत, हिरण्यप्रसाद बस्ताकोटी, अच्युतानन्द मिश्र, सुरेन्द्रलाल हाडा, दिपेश आचार्य, सन्दीप अधिकारी, परामर्शदाता कम्पनी भ्यानराइज सोलुसन सालका सीईओ जमल अनउटी, कम्पनीका स्थानीय एजेन्ट कनेक्सन ट्रेड लिंक प्रालिका अध्यक्ष दिलीपकुमार गुरुङ र निर्देशक तेजप्रसाद खरेललाई पनि प्रतिवादी बनाइएको छ।आयोगको दाबीअनुसार टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद प्रक्रिया भ्रष्ट ढंगबाट अघि बढाइएकाले राज्यलाई ठूलो आर्थिक नोक्सानी पुगेको हो।
#टेरामक्स