म त केवल एउटा आमगृहिणी हुँ, तर मेरो आँखा खुला छ। म हेर्छु—राजनीतिक अस्थिरता, करको भार, भ्रष्टाचार र राज्य संयन्त्रको लाचारी। म विश्वास गर्छु, भोलिका नीति निर्माणकर्ताहरूले यदि हाम्रो भान्साको आँसु महसुस गर्नसके, यो देशको राजनीति पनि फेरिन सक्छ।
विराटनगर– घरको ढोकाबाट हेर्दा सबै ठिकै देखिन्छ—छोरी अध्ययनमा र श्रीमान् व्यवसायमा व्यस्त । म बिहानको चिया बोकेर भान्साको झ्यालबाट घामको रेखी हेर्दै सोच्छु : यो घरभित्रको भान्सा अहिले मुलुककै संकटको ऐना बनेको छ।
दुई दशकभन्दा बढीको दिनरातको श्रमपछि घर र भान्छा तयार त भयो तर भान्छाघरभित्रको दैनिक संघर्ष शब्दमा प्रकट गर्न सहज छैन । किनकी दिनहुँ बढिरहेको महंगीले आम्दानीको ठूलो हिस्सा भान्छामै खर्चिन्छ । भान्छाले घरकै बजेट खलबलिएको छ ।
दाल, चामल, तरकारी, तेल—यी त केवल सामान होइनन्, म जस्ता लाखौँ गृहिणीको दैनिक चिन्ताका मुख्य पात्र हुन्। जब भाउ बढ्छ, दैनिक बजेटको गाँठो कस्न थाल्छु। बजारबाट फर्किँदा हातको झोलाभन्दा भारी हुन्छ मनको बोझ—‘अझ केके कटौती गर्ने होला?’ भनेर।
राजनीति त ठूलाबडाहरूको कुरा तर त्यसको असर भने भान्साको भाँडामा सुनिन्छ। सरकारको बजेट घोषणापछि नेताहरू भाषण गर्छन—‘महँगीलाई नियन्त्रण गर्छौं’ भनेर। तर भोलिपल्ट नै उपभोग्य सामग्रीको भाउ झन् आकाशिन्छ।
अर्थशास्त्रीहरू मुद्रा स्फीतिको दर बोल्छन् । तर म त्यो दरभन्दा बढी चिन्तित हुन्छु । किनभने हाम्रो आम्दानीको बाटो सीमित छ, तर महँगी अस्थिर छ।
देशको विदेशी मुद्रा सञ्चिति सवा २४ खर्ब रुपैयाँ नाघेको सुन्छु । तर हाम्रो घरको चुल्होचाहिँ जहिल्यै नि संकटमै छ । रेमिट्यान्ससँगै आयात–निर्यात बढिरहेको र पर्यटनलगायत क्षेत्र सुध्रिँदै सुन्दा राहत महसुस हुन्छ तर महंगीले भान्छालाई छोपेकै छ । मेरो चिन्ता बढाएकै छ ।
अब त बजारमा हिँड्दा दाम सोध्न पनि डर लाग्छ। । बटुवाको बोलीभन्दा सब्जीको भाउ ठूलो सुनिन्छ। सरकार र व्यापारिक घरानाबीचको साठगाँठको प्रत्यक्ष मार म जस्ता गृहिणीको भूमिका र आत्मसम्मानमा पर्छ। यो देशको अर्थतन्त्र त जसोतसो बाँचेको होला, तर म जस्ता घरघरकी अर्थमन्त्रीहरू मानसिक रूपमा पिल्सिएका छौं। व्यवसायको स्थिति पनि डामाडोलै छ ।
गृहिणीलाई यो समाजले कहिल्यै ‘वर्गीकरण’ गर्दैन—न त श्रमिकको दर्जा दिइन्छ, न त कर्मचारीको। किनकी हाम्रो योगदान नाप्ने कसी छैन। हामी बजेट बनाउँछौं—सात दिने, तीस दिने, कहिलेकाहिँ त स्याउ, अनार जस्तो महँगो फलको स्वाद बिर्सिएर छोराछोरीको मुख हेरेर आँखा चिम्लिन्छौं। त्यो आँखा चिम्लिनु केवल असहायता होइन, यो व्यवस्थाप्रतिको मौन आक्रोश हो।
देशको राजनीति अस्तव्यस्त छ—आज सत्ता को, भोलि कसको? हिजोका विरोधी आजका साझेदार। तर आम मानिसको जीवनमा न सत्ता बदलिन्छ, न सपना पूरा हुन्छ। म सोच्छु—देशका नेताहरूको घरमा पनि गृहिणी छन् होला, के उनीहरूले पनि मेरो जस्तै मनको दुखाइ अनुभव गर्छन् ? कि उनीहरूका भान्सामा मूल्य सूचकांक उत्रिँदैन?
मलाई लाग्छ, देशको ढुकुटीबाट भान्छा सञ्चालन गर्नेहरुलाई यता तिर ध्यान दिन जरुरी नै छैन । फेरि अधिकांश ठुला नेता–मन्त्रीका श्रीमती पनि राजनीतिमा र सांसद छन् । उनीहरुसँग भान्छामा छिर्ने समय पनि कहाँ होला र ? उनीहरु त बैठक, छलफल, गोष्ठी, सेमिनार, नयाँनयाँ पहिरन, सुन–हिराका गहनाको छनोट र दैनिक हुने भोजभतेरमा व्यस्त भइरहने हुनाले चामल–दालको मूल्यसँग सरोकार पनि हुँदैन ।
म त केवल एउटा आमगृहिणी हुँ, तर मेरो आँखा खुला छ। म हेर्छु—राजनीतिक अस्थिरता, करको भार, भ्रष्टाचार र राज्य संयन्त्रको लाचारी। म विश्वास गर्छु, भोलिका नीति निर्माणकर्ताहरूले यदि हाम्रो भान्साको आँसु महसुस गर्नसके, यो देशको राजनीति पनि फेरिन सक्छ।
कहिलेकाहिँ मन लाग्छ, भान्साबाटै एउटा आन्दोलन सुरु गरूँ। एउटी गृहिणीले बोलेको सत्य—‘अब यो अवस्था वा व्यवस्थामा परिवर्तन चाहिन्छ ।’ गृहिणीहरुको आन्दोलन देशको सबैभन्दा ठुलो क्रान्ति बन्न सक्छ।किनकि भान्सामा केवल खाना पक्दैन, त्यहाँ देशको भविष्यको स्वाद पनि तय हुन्छ।
#भान्सा