विराटनगर– हाल देशभर पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडी तथा अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको असरस्वरूप पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ भने अन्य क्षेत्रको मौसम मुख्यतः सफा देखिन्छ।

महाशाखाका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशसहित पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ।

ती क्षेत्रमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षासहित हिमपात पनि हुन सक्ने पूर्वानुमान गरिएको छ।आज रातिसमेत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रहरूमा चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

महाशाखाले चट्याङ्ग, वर्षा र हिमपातका कारण जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।