विराटनगर — देशभर पश्चिमी वायु, स्थानीय वायु तथा बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभावका कारण मौसममा विविधता देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मधेश प्रदेशको पश्चिमी भूभाग, बागमती, गण्डकी प्रदेशलगायतका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ भने अन्य क्षेत्रको मौसम मुख्यतः सफा वा आंशिक बदली रहेको छ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र अन्य प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।आज दिउँसो पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश तथा देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ।

ती क्षेत्रमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।यस प्रकारको मौसमी अवस्थाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकाले महाशाखाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

#मौसम# पूर्वानुमान