काठमाडौँ — हाल देशमा पश्चिमी वायु, स्थानीय वायु तथा बङ्गालको खाडी र अरब सागरबाट भित्रिएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।यसको प्रभावस्वरूप देशभर आंशिकदेखि सामान्य बदली रहेको छ भने पहाडी भूभागका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

कोशी र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागका थोरै स्थानहरूमा र अन्य भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै देशका हिमाली क्षेत्रमा हल्का वर्षासँगै हिमपातको सम्भावना पनि रहेको छ।

आज राति पनि पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य भागहरूमा मौसम मुख्यतः सफा देखि आंशिक बदली रहनेछ। कोशी प्रदेशलगायत केही पहाडी स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र हिमाली भूभागका एक–दुई स्थानमा हिमपातको सम्भावना यथावत् रहने महाशाखाको भनाइ छ।मौसमी प्रभावले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।