विराटनगर– हाल देशभर पश्चिमी वायु, स्थानीय वायु, बंगालको खाडी र अरब सागरबाट आएका जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली छ भने अन्य क्षेत्रको मौसम मुख्यतः सफा वा आंशिक बदली रहेको छ।
देशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ। आज सोमबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित अन्य पहाडी भेकमा आंशिकदेखि सामान्य बदली रहनेछ। यी क्षेत्रका केही स्थानमा र अन्य भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात समेत हुन सक्ने अनुमान गरिएको छ।
यस्तै मधेस प्रदेशसहित कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा हावाहुरी चल्ने सम्भावना पनि रहेको छ।वर्षा र हावाहुरीका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
#मौसम# पूर्वानुमान