विराटनगर– देशमा आज एउटा गम्भीर यथार्थ मौन सहमतिमा स्थापित भएको छ— यहाँ सम्मान सत्कर्मको पुरस्कार होइन,  शक्तिको पूजा हो, खुशी पार्न गरिएको कार्य हो । पदमा जो छ, उसको चरण धुनु पर्ने बाध्यता छ। यो अहिलेको ‘सिष्टम’को माग हो, जसले उद्योगी व्यवसायी मात्र होइन, सिंगो समाजलाई नै घुँडा टेक्न बाध्य बनाएको छ।

उद्योगी व्यवसायीहरूले सुरक्षाको नाममा सुरक्षा निकायका टाउके, दलका ठेकेदार र गुण्डा नाइकेहरूलाई चाकरी गर्नु स्वेच्छाले होइन, बाध्यताले जन्मिएको परिपाटी हो। त्यो बाध्यता सुरक्षा सञ्जालको नाममा हुने असहयोग, प्रशासनिक झमेला र नदेखिने जोखिमबाट जोगिनका लागि हो। व्यापारी इमानदार बन्न चाहन्छ, तर यो राज्य संयन्त्रले उसलाई त्यो बाटो हिँड्न दिँदैन।

मोरङका उद्योगी व्यवसायीहरू नयाँ सुरक्षा प्रमुख सरुवा हुनासाथ स्वागतको होडमा किन लाग्छन् ? यो मनैदेखिको सम्मान हो कि व्यक्तिगत तथा निहित स्वार्थ प्रेरित व्यापारिक सुरक्षा सुनिश्चितताको पूर्व सर्त? कपिलवस्तुका व्यापारीहरूले सशस्त्र प्रहरीको ज्यादतीविरुद्ध बजार बन्द गर्नुको अर्थ के हो? यी प्रश्नहरू सजिलैसँग बुझिन्छन् — व्यापार गर्नु भनेको अब सुरक्षाका मालिकसँग सम्झौता गर्नु हो। सम्झौता विफल भयो भने बजार बन्द हुन्छ, कारोबार बन्द हुन्छ, अनि कहिलेकाहिँ जीवन पनि जोखिममा पर्न सक्छ।

प्रहरी तस्करी रोक्छु भनेर सीमानाकामा आममान्छेको झोला खोतलखातल गरेर कडाइ गरेको देखाउँछ, व्यापारीलाई तर्साउँछ, अनि कुरा मिलेपछि स्थिति सामान्य हुन्छ, सीमानाकाबाट ट्रकका ट्रक अवैध सामानको आवागमन रोकियो जस्तो भान हुन्छ । सेटिङमा तस्करी कसरी चल्छ भन्ने अब त बच्चाबुच्चीहरुले पनि बुझिसके ।

अपवादमा केही राम्रा सुरक्षा अधिकारीहरु पनि पक्कै छन्, तर प्रथाको नाममा अपवाद ओझेलमा पर्छ। यही प्रथा नै ‘सिष्टम’ हो — जहाँ अधिकार प्रयोगको उद्देश्य सेवा होइन, आन्तरिक र अदृश्य सौदाबाजी हो।

सुरक्षा प्रमुखलाई गरिने सम्मानको फोटो खिचिन्छ, सामाजिक सञ्जाल र स्थानीय मिडियामा प्रचार हुन्छ। यो सम्मान होइन, समाजलाई देखाउने शक्ति हो। त्यो शक्ति जसले देखाउँछ, उसको उद्देश्य ‘हामीसँग पहुँच छ, सुरक्षा छ, सम्झौता छ।’ भन्ने सन्देश दिनु हो । ताकि बिहानसाँझको डुलाइमा बाटामा भेटिनेले डर र प्रभावमा भए पनि सम्मान गरुन् भन्ने ध्येय पनि यसमा लुकेको छ ।

सञ्चारमाध्यमहरू पनि यस्ता सम्मान कार्यक्रमको प्रचारमा लाग्छन्, आलोचनाको होइन। किनभने उनीहरू पनि अन्ततः यही सिष्टमको हिस्सा बनेका छन् — शक्तिवालाको गुण गाउने नत्र टाढा ठेलेर बाहिर फालिने र सदाका लागि ओझेलमा पारिने ।

आजको सिष्टममा कुनै दल वा गुटमा आबद्ध नभएको, पहुँच नभएको, सोझो र मिहिनेती मान्छे समाजको नजरमा ‘काम नलाग्ने’ व्यक्ति बन्छ। इमानदार नागरिकको सम्मान कहाँ हुन्छ? पत्रकारिता, चिकित्सा, शिक्षाशास्त्र, सेवालगायतका क्षेत्रमा निष्ठापूर्वक लागेका धेरै व्यक्तिहरू छन्, जसले कहिल्यै कुनै फोटो सेसनको मौका पाएनन्, सार्वजनिक मञ्चमा माला पाएनन्, प्रचार पाएनन्। उनीहरू मौन छन्, किनभने उनीहरू शक्तिका उपासक होइनन्।

यो अवस्था केवल उद्योगी व्यवसायीका लागि मात्र होइन, शिक्षक, डाक्टर, पत्रकार, र गरिब किसानका लागि पनि उस्तै हो — जो सिष्टम बाहिर छन्, उनीहरू ‘कानुनी’ ढंगले व्यवसाय वा जीवन अघि बढाउन सक्दैनन्। अनि जुन सिष्टममा प्रवेश गर्छन्, त्यहाँ पहुँच र चाकरी वा शक्तिको भक्तिबिनाको विकल्प छैन।

समस्या न सुरक्षाकर्मीमा छ, न डीआईजीमा। समस्या यो राज्य संरचना र त्यसमा जरा गाडेर बसेको चाकरी प्रथा, चरम भ्रष्ट, पहुँचवादी सिष्टममा छ। अहिले चर्चामा रहेको कोशी प्रदेश प्रहरी प्रमुखको सम्मान पनि यही सिष्टमको एउटा कडी हो — ती डीआईजी दोषी होइनन्, उनी आफैं सिष्टमको एक भाग हुन्। उनले बुझेका छन् — उद्योगी व्यवसायीले उनलाई होइन, ‘डीआईजी’ पदलाई पूजा गरेका हुन्। त्यो पोसाकवाला आकर्षक पद जसले सशस्त्र शक्तिको प्रतिनिधित्व गर्छ।

आज सिष्टमले सबैलाई शक्तिको पुजारी बन्न बाध्य बनाएको छ। उद्योगी व्यवसायी त्यसको प्रत्यक्ष शिकार हुन्, तर समाजको सबै वर्ग त्यसको परोक्ष असरमा छन्। यो सिष्टम भत्किएन भने सम्मानको मूल्य झनझन खस्कँदै जान्छ। इमानदार मानिसहरू झन् एक्लिँदै जान्छन्।

समाजलाई बदल्न चाहने हो भने शक्तिको होइन, निष्ठा र इमानको पूजा सुरु गर्नुपर्छ। तर त्यो सुरू कसले गर्ने? जबसम्म हामी सबै यो प्रश्नको जवाफ दिन हिम्मत गर्दैनौं, तबसम्म यो पुरानो वा आउटडेटेड सिष्टम हाबी नै हुनेछ।

#शक्ति#को #पूजा

(आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर, तीन दशकभन्दा बढी समयदेखि ग्रामीण क्षेत्रदेखि काठमाडौँसम्म मूलधारको पत्रकारितामा सक्रिय ‘द नेप्लिज डट कम’ का प्रधान सम्पादक जितेन्द्र साहको यो व्यक्तिगत विचार हो । साह कुनै पनि राजनीतिक दल निकट पत्रकार संघ, संगठन, मञ्च, युनियन, चौतारी वा समाज लगायतमा आबद्ध छैनन् भन्ने कुरा प्रष्ट गर्न चाहन्छौं ।)