विराटनगर — पश्चिमी वायु, स्थानीय वायु र जलवाष्पयुक्त हावाको संयुक्त प्रभावका कारण देशभर आगामी तीन दिनसम्म वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार अहिले पनि देशका धेरैजसो स्थानमा हल्कादेखि भारी वर्षा भइरहेको छ भने कतिपय ठाउँमा चट्याङ र हुरीसहितको वर्षाले जनजीवन प्रभावित बनेको छ।

मौसमविद् सञ्जीव अधिकारीले हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको र सबै प्रदेशका एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको जानकारी दिए। ‘पश्चिमी वायु र स्थानीय वायुको प्रभावसँगै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभावका कारण जुनसुकै समयमा पनि वर्षा भइरहेको छ,’ उनले भने।

उनका अनुसार अहिले प्रि–मनसुनको समय भएकाले विशेष गरी साँझपख चट्याङसहितको वर्षा हुने सम्भावना उच्च हुने गर्छ। आज रातिसमेत देशका विभिन्न भागमा वर्षा हुने अनुमान गरिएको छ।महाशाखाले मेघ गर्जन, चट्याङ, हावाहुरी र वर्षाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

#तीन #दिन#सम्म #वर्षा