विराटनगर — नेपाल टेलिकमका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनील पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच करोड ७९ लाख रुपैयाँको थप भ्रष्टाचार मुद्दा दायर गरेको छ।
पौडेल सूचना प्रविधि सम्बन्धी सरकारी संस्था राष्ट्रिय सूचना प्रविधि केन्द्रमा कार्यकारी प्रमुख रहँदा कम्प्युटरका उपकरण र सेवा खरिदमा भएको अनियमिततासम्बन्धी उजुरीका आधारमा अनुसन्धानपछि आयोगले विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो।
मुद्दामा पौडेलसँगै केन्द्रका तत्कालीन सहायक निर्देशक रमेश पोख्रेल, कम्प्युटर इन्जिनियर रामशरण गायक, लेखा अधिकृत निमबहादुर ओली र म्याक्स इन्टरनेसनल नामक कम्पनीका प्रमुख कार्यकारी अकबर हुसेनलाई समेत प्रतिवादी बनाइएको छ।
अख्तियारका अनुसार, सरकारी संस्था र म्याक्स इन्टरनेसनल कम्पनीबीच मिलेमतो गरी उपकरणका विवरण पहिले नै तोकिएकै कम्पनीसँग मिल्ने बनाइएको थियो। त्यसै अनुसार ठेक्का दिइएको र करिव ५ करोड ७९ लाख रुपैयाँ बढी भुक्तानी दिइएको छ।
आयोगको अनुसन्धानले देखाएको छ कि सन् २०१९ मा भएको उक्त खरिद प्रक्रियामा केन्द्रले झन्डै २६ करोड ३० लाख रुपैयाँ लागत अनुमान गरेको थियो। सो अनुरूप, ‘प्रशिक्षण र एकपटकको जडान’ शीर्षकमा झन्डै २ करोड ६५ लाख र ‘तीन वर्षको मर्मत सेवा’ भनेर झन्डै ३ करोड १४ लाख रुपैयाँ कम्पनीलाई दिइएको थियो। तर सम्झौतामा उल्लेख गरिएका सेवा नभए पनि रकम भुक्तानी गरिएको प्रमाण भेटिएको अख्तियारले जनाएको छ।
आयोगको ठहर अनुसार, यी सबै कार्यहरू पूर्वनियोजित मिलेमतोका साथ गरिएको र सरकारलाई ठूलो आर्थिक नोक्सानी पुयाईएको छ। पौडेलमाथि यसअघि पनि भ्रष्टाचार सम्बन्धी मुद्दा दायर भइसकेको छ र उनी अहिले जेलमा छन्।
#सुनील #पौडेल