विराटनगर – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राज्यसत्ताविरुद्ध सुरु गरिएको परिवर्तनको लडाइँ एकैदिनमा पूरा नहुने स्पष्ट पारेका छन्। मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले परिवर्तन सहजै सम्भव नभएको उल्लेख गर्दै रणनीति र दीर्घकालीन योजनाका आधारमा अघि बढ्नुपर्नेमा जोड दिए।

‘राज्यसत्ताविरुद्धको परिवर्तनको लडाइँ एकै दिनमा सकिने कुरा होइन। पाए त आजै सत्ता परिवर्तन गरौं, आजै राजालाई मुकुट लगाएर नारायणहिटीमा ल्याऔं भन्ने सोच हुन्छ,’ लिङ्देनले भने, ‘तर चाहनाले मात्रै त्यो सम्भव हुँदैन। अहिलेको शक्ति र परिस्थितिले त्यसलाई सम्भव बनाउँछ कि बनाउँदैन भन्ने कुरा गम्भीर रूपमा बुझ्नुपर्छ। त्यसैले योजना र रणनीति अत्यावश्यक छ।’

उनले नेपालको इतिहासमा भएका ठूला राजनीतिक परिवर्तनहरू कुनै पनि निर्वाचनबाट नभइ जनआन्दोलनबाटै सम्भव भएको उल्लेख गर्दै वर्तमान परिवर्तनको खोजी पनि निर्वाचनमार्फत नभइ जनताको सहभागिताबाट हुनुपर्नेमा जोड दिए ।

‘नेपालमा ०७ साल, २०१७ साल, २०४६ साल र २०६२÷०६३ सालका परिवर्तनहरू चुनावबाट भएका होइनन्। हामीले खोजिरहेको नयाँ परिवर्तन पनि जनताबाटै होस् भन्ने सोचका साथ अघि बढिरहेका छौं,’ लिङ्देनले भने।

उनले आन्दोलन, प्रदर्शन र घेराउमार्फत योजना अघि बढाइरहेको बताउँदै सहमतिको माध्यमबाट पनि राजसंस्थाको पुनःस्थापना सम्भव हुने विश्वास व्यक्त गरे। साथै राजादेखि वर्तमान राजनीतिक दलहरुसम्म सबैलाई समेटेर देशको निकास खोज्नुपर्ने आवश्यकता रहेको धारणा पनि राखे।
 

#राप्रपा#राजा#मुकुट