विराटनगर– इलामको फाकफोकथुम–३ आमचोक (सल्लेरी) का २० वर्षीय उमेश गिरी चैत १ मा प्रहरी चौकी आमचोक पुगे । उनले १९ वर्षीया पत्नी विमला कट्टेल हराएको निवेदन दिएका थिए । गर्भवती श्रीमती बेपत्ता भएको जानकारी दिएपछि प्रहरीले खोजीका लागि विशेष टोली गठन गर्यो ।

चैत १५ को बिहान १ बजे विमलाको शव घरदेखि करिब डेढ घन्टाको पैदल दूरीमा भेटियो । शव गोलाई (धार्नेखोप) स्थित कच्ची सडकको बीचमा करिब ५ फिट गहिरो खाल्डो खनेर गाडिएको अवस्थामा फेला पर्यो । घटनाको अनुसन्धान गर्दै जाँदा जब प्रहरी निष्कर्षमा पुग्यो, उनीहरू नै चकित परे। 

प्रहरीका अनुसार गर्भवती बिमलाको हत्या अरू कसैले होइन, उनकै पति उमेश गिरीले गरेका रहेछन् । अनुसन्धान अनुसार एक्स्काभेटर चालक उमेशले विमलालाई घुम्न जाऔं भनेर धार्नेखोप लगे ।

त्यहाँ पुगेर उनले मुक्का प्रहार गरी लडाएपछि घाँटी थिचेर हत्या गरे । त्यसपछि एक्स्काभेटर प्रयोग गरी खाल्डो खनेर शव गाडिएको पाइएको छ । प्रहरीले चैत १२ मा नै उमेशलाई पक्राउ गरी अनुसन्धान थालेको थियो । सोधपुछका क्रममा उनले आफैले हत्या गरी शव गाडेको स्वीकारेपछि प्रहरी उनलाई लिएर घटनास्थल पुगेको थियो । त्यहाँ उनको देखाएको स्थानमै शव भेटियो ।

प्रारम्भिक अनुसन्धानअनुसार विवाहेत्तर सम्बन्ध नै हत्याको प्रमुख कारण देखिएको छ । यस हत्याकाण्डले स्थानीयलाई स्तब्ध बनाएको छ भने प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ ।