विराटनगर– लामो समयपछि नेपालको निर्यात व्यापारमा उल्लेखनीय वृद्धि देखिएको छ। चालु आर्थिक वर्षको पहिलो १० महिनामा (साउनदेखि वैशाखसम्म) २ खर्ब १७ अर्ब ९१ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको भन्सार विभागले जनाएको छ। यो अहिलेसम्मकै सबैभन्दा ठूलो निर्यात हो।
भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार उक्त अवधिमा निर्यात ७२.७१ प्रतिशतले बढेको छ। गत वर्षको यो समान अवधिमा १ खर्ब २५ अर्ब रुपैयाँको निर्यात मात्र भएको थियो। यसपटक निर्यातमा भएको वृद्धिको मुख्य कारण सोयाबिन र सनफ्लावर तेलको निर्यात हो।
१० महिनामा मात्र ७८ अर्ब ७५ करोड रुपैयाँको सोयाबिन तेल र १० अर्ब ९ करोड रुपैयाँको सनफ्लावर तेल निर्यात भएको छ। यसले गर्दा वनस्पति तेल नै सबैभन्दा धेरै निर्यात हुने वस्तु बन्यो। त्यसैगरी ८ अर्ब ८४ करोडको कार्पेट, ६ अर्ब ६७ करोडको अलैंची, र ४ अर्ब ७९ करोडको स्टिल पनि प्रमुख निर्यात वस्तुमा परे।
तर विज्ञहरू भन्छन्— यो वृद्धिमा आत्मनिर्भर उत्पादनको हिस्सा कम छ। किनकि नेपालले वनस्पति तेलको कच्चा पदार्थ आयात गरेर प्रशोधनपछि निर्यात गरिरहेको छ, जुन दिगो निर्यात मानिंदैन।
व्यापार घाटा अझै बढ्दो
निर्यातमा कीर्तिमानी वृद्धिसँगै समग्र वैदेशिक व्यापार पनि बढेको छ। १० महिनामा १६ खर्ब ९२ अर्ब रुपैयाँको वैदेशिक व्यापार भएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा १८.३७ प्रतिशतले बढी हो।
सोही अवधिमा १४ खर्ब ७४ अर्ब १८ करोड रुपैयाँको वस्तु आयात भएसँगै देशको व्यापार घाटा १२ खर्ब ५६ अर्ब रुपैयाँमा पुगेको छ। यो गत वर्षको तुलनामा ६.७२ प्रतिशतले बढी हो।
भारतसँग मात्रै ७ खर्ब ४ अर्ब रुपैयाँको व्यापार घाटा छ। चीनसँगको घाटा पनि २ खर्ब ७४ अर्ब रुपैयाँ पुगेको छ। नेपालले भारतबाट ८ खर्ब ८० अर्ब र चीनबाट २ खर्ब ७७ अर्ब रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । तर निर्यात क्रमशः १ खर्ब ७६ अर्ब र २ अर्ब ३९ करोड रुपैयाँ मात्र भएको छ।
इन्धन र उपभोग्य वस्तुको बढ्दो निर्भरता
नेपालको सबैभन्दा धेरै आयात हुने वस्तुहरूमा इन्धन (डिजेल, पेट्रोल, खाना पकाउने ग्यास), भटमासको कच्चा तेल, मोबाइल फोन, रेडिमेड कपडा, खाद्यान्न र तरकारी पर्दछन्।
सरकारले स्वदेशमै उत्पादन वृद्धि गरेर व्यापार घाटा घटाउने नीति लिँदै आए पनि व्यवहारमा प्रभावकारी कार्यान्वयन हुन नसक्दा मुलुकको व्यापार सन्तुलन झन् बिग्रिँदो छ। हाल नेपालले १३० भन्दा बढी मुलुकसँग व्यापार घाटा व्यहोर्नु परिरहेको छ।
#सोयाबिन# र #सनफ्लावर# तेल