काठमाडौं– संयुक्त अरब इमिरेट्स (युएई) सरकारले रमजान महिना र ईद पर्वको अवसरमा विभिन्न अपराधमा जेल जीवन बिताइरहेका १ सय ६६ नेपाली नागरिकलाई आममाफी दिएको छ ।
परराष्ट्र मन्त्रालयले उक्त निर्णयप्रति युएई सरकारलाई धन्यवाद ज्ञापन गर्दै यस कदमले दुई देशबीचको सम्बन्धलाई थप सौहार्दपूर्ण बनाएको उल्लेख गरेको छ । उक्त मन्त्रालयका अनुसार नेपाल सरकारले युएईस्थित नेपाली दूतावासमार्फत नेपाली कैदीहरूको माफीका लागि अपील गरेको थियो जसको परिणामस्वरूप यो निर्णय आएको हो ।
यसअघि कतार सरकारले पनि रमादान पर्वको अवसरमा १८ नेपाली कैदीहरूलाई आममाफी दिएको थियो । नेपाल सरकारले युएई र कतार जस्ता मित्र राष्ट्रहरूद्वारा प्रदान गरिने यस्ता आममाफीहरूलाई उच्च मूल्यांकन गर्दै भविष्यमा पनि आपसी सहयोग र समझदारीलाई अझ सुदृढ बनाउने अपेक्षा गरेको छ ।