वाशिङटन डीसी (एजेन्सी)– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामफोसा बीच बुधबार ह्वाइट हाउसको ओभल अफिसमा भएको भेटवार्ता मिडियाकै सामुन्ने चर्को घोचपेचमा परिणत भएको छ। प्रारम्भमा सौहार्दपूर्ण देखिएको यो कूटनीतिक बैठक अन्त्यतिर आएर विवादास्पद र तनावग्रस्त बनेपछि दुई देशबीचको सम्बन्धमा पनि असर पर्ने संकेत देखिएको छ।

सुरुमा गल्फ र व्यापारका विषयमा सामान्य छलफल चलिरहेका बेला राष्ट्रपति ट्रम्पले आफ्ना सल्लाहकारलाई कोठाको बत्ती निभाउन आदेश दिए। त्यसपछि उनले दक्षिण अफ्रिकामा गोरा किसानहरूमाथि कथित हिंसालाई दर्शाउने भिडियो प्रस्तुत गरे।
रामफोसाले उक्त भिडियो देखाउँदै गरिएको ‘नरसंहार’ को दाबी अस्वीकार गर्दै भने, ‘दक्षिण अफ्रिकामा सबै जातीय समुदाय हिंसाबाट प्रभावित छन्, केवल गोरा समुदाय मात्र होइन।’ उनले त्यस्ता अफवाह फैलाउन नहुने र तथ्यका आधारमा मात्र टिप्पणी गर्न अमेरिकी समकक्षीलाई सुझाए।

ट्रम्पले भने समाचार रिपोर्टहरू देखाउँदै दक्षिण अफ्रिकामा गोराहरू ‘हत्यामाथि हत्या’ को शिकार भइरहेको दाबी गरे। रामफोसाले यस्तो एकल दृश्यले समग्र देशको अवस्था चित्रण गर्न नसक्ने बताए। उनले देशमा अपराध दर उच्च भए पनि त्यसले कुनै एक जातिलाई लक्षित गरेको कुरा अस्वीकारे ।

दुवै नेताबीच भूमि अधिग्रहणसम्बन्धी दक्षिण अफ्रिकाको नयाँ कानुनलाई लिएर समेत चर्को बहस भयो। सन् २०२४ अक्टोबर ९ मा लागू भएको उक्त कानुनले सरकारलाई सार्वजनिक प्रयोजनका लागि बिना मुआब्जा निजी जग्गा अधिग्रहण गर्न अनुमति दिन्छ। यो कानुन ऐतिहासिक रङ्गभेदी अन्याय सच्याउने प्रयासको रूपमा प्रस्तुत गरिए पनि ट्रम्पले यसलाई गोराहरूप्रति अन्याय भएको भन्दै आलोचना गरे।

यही विषय उठाउँदै ट्रम्पले दक्षिण अफ्रिकालाई दिँदै आएको अमेरिकी आर्थिक सहयोग पूर्ण रूपमा बन्द गर्ने चेतावनी दिए। उनले गोरा किसानहरूलाई अमेरिका प्रवेशमा प्राथमिकता दिने र उनीहरूको शरणार्थी प्रक्रिया फास्ट ट्र्याकमार्फत अघि बढाउने घोषणा समेत गरे। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यसपछि दक्षिण अफ्रिकाबाट गोरा किसानहरूको अमेरिका प्रस्थानमा वृद्धि आएको छ।

घोचपेचको क्रममा कतारबाट प्राप्त जहाजको विषयमा पनि रामफोसाले व्यंग्य गरे – ‘मसँग तपाईंलाई दिने प्लेन छैन।’ ट्रम्पले प्रत्युत्तरमा भने, ‘यदि तपाईंले दिएको भए, म लिने थिएँ।’

यसअघि पनि गत फेब्रुअरी २८ मा राष्ट्रपति ट्रम्पले युक्रेनका राष्ट्रपतिसँग सार्वजनिक रूपमा कटु व्यवहार गरेका थिए। ती राष्ट्रपति त्यस दिन ह्वाइट हाउसमा लन्च नगरी नै फर्किएका थिए।यो घटनाक्रमले ट्रम्पको कूटनीतिक शैलीमाथि पुनः प्रश्न उठाएको छ । अमेरिका–दक्षिण अफ्रिका सम्बन्धमा तनाव थपिएको विश्लेषकहरूको भनाइ छ।

#डोनाल्ड# ट्रम्प# सिरिल #रामफोसा