काठमाडौँ — भारत र पाकिस्तानबीच चार दिनसम्म चलेको सैन्य तनावपछि युद्धविराम भएको छ । तर सतर्कता स्वरूप एयर इन्डिया र इन्डिगोले मंगलबार सीमावर्ती क्षेत्रका आफ्ना केही उडानहरू रद्द गरेका छन्।
एयर इन्डियाले मंगलबार एक्स (पूर्वट्विटर) मा सार्वजनिक एडभाइजरी जारी गर्दै यात्रुहरूको सुरक्षालाई ध्यानमा राखी जम्मू, लेह, जोधपुर, अमृतसर, भुज, जामनगर, चण्डीगढ र राजकोटबाट हुने उडानहरू रद्द गरिएको जानकारी दिएको छ।
त्यस्तै इन्डिगो एयरलाइन्सले पनि जम्मू, अमृतसर, चण्डीगढ, लेह, श्रीनगर र राजकोटबाट मंगलबारका सबै उडान रद्द गरेको छ।दुवै एयरलाइन्सले यात्रुहरूलाई आवश्यक जानकारीका लागि आफ्नो वेबसाइट र हेल्पलाइनमा सम्पर्क गर्न अनुरोध गरेका छन्।
यसबीच भारत र पाकिस्तानका सेना प्रमुख स्तरका अधिकारी (डीजीएमओ) बीच सोमबार साँझ फोन संवाद भएको थियो। उक्त संवादमा युद्धविरामको कार्यान्वयनको आगामी चरणबारे छलफल भएको बीबीसीले जनाएको छ।
#भारत-पाकिस्तान