विराटनगर– कर्मचारी सरुवा र कमिशनको आधारमा बजेट बाँड्दै आएका मधेस प्रदेशका वन तथा वातावरणमन्त्री त्रिभुवन साह र प्रभावकारी रुपमा मन्त्रालय सञ्चालन गर्न नसकेका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री सकिल मियाँ अन्सारीलाई जनमत पार्टीले फिर्ता बोलाएर वन तथा वातावरणमन्त्रीमा सिरहाका संजय यादव र उद्योग, वाणिज्य तथा पर्यटनमन्त्रीमा रौतहटका बसन्त कुशवाहालाई पठाएको छ । यादव र कुशवहाले पद तथा गोपनीयताको सपथ ग्रहण गरेर बिहीबार मन्त्रालय सम्हालेका हुन् । 

यो पनि : मधेसको वन मन्त्रालयमा हाकिम सरुवाको खेल रकम असुल्न वर्षैमै तीन पटक कार्यालय प्रमुखको सरुवा

साहले मोटो रकम लिएर वर्षमा नै तीन पटकसम्म कार्यालय प्रमुखहरुको सरुवा गरेकाले चर्को विरोधको सामना गर्दै आएका थिए । उनले कमिशनका आधारमा बजेट बाँडेर अबैध रकम असुलीमा लागेकाले मन्त्रालयको कामकाज प्रभावकारी रुपमा अगाडि बढ्न नसक्दा प्रदेशवासीमा आक्रोश बढ्दै गएको र त्यसको असर पार्टीमा पनि पर्न गएकोले फिर्ता बोलाउन बाध्य भएको जनमत पार्टीका एक नेताको भनाइ छ । पार्टीले सुरुमा साहलाई राजिनामा दिन आग्रह गरेको तर उनले आलटाल गर्दै पदावधि लम्ब्याउँदै गएपछि फिर्ता बोलाउन बाध्य भएको उनको भनाइ थियो । 

यो पनि : मधेस सरकारका वन सचिव घिमिरेले अवकाशमा गइसकेका कर्मचारीलाई मन्त्रालयमा खटाएर सिण्डिकेट चलाउँदै

साहले मन्त्रालयका सचिव उद्धव बहादुर घिमिरेसँगको सेटिङ्मा लागेर अबैध असुली धन्धा चलाइरहेकोभन्दै चौतर्फी आलोचना खेप्दै आएका थिए । सचिव घिमिरेले मन्त्रालयको कामकाजमा ध्यान नदिई तालिम, गोष्ठी, सेमिनारमा भत्ता खान हिडेर समय बिताउँदै आएकाले पनि मन्त्रालयको कामकाज प्रभावकारी ढंगले हालसम्म अघि बढ्न नसकेको मन्त्रालय स्रोतले जनाएको छ । 

अन्सारीले मन्त्रालयको कामकाज नै प्रभावकारी ढंगले अघि बढाउन नसक्दा उनको ठाउँमा कुशवहालाई अवसर दिइएको ती नेताको भनाइ छ ।