काठमाडौँ — भारत सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेले नेपाल भ्रमणका क्रममा उच्चस्तरीय राजनीतिक भेटवार्ता थालेका छन्। तीन दिने भ्रमणमा बुधबार बिहान काठमाडौं ओर्लिएका चौथाइवालेले प्रमुख सत्ता र प्रतिपक्षी नेताहरूसँग भेटघाट गरेका हुन्।
बुधबार बिहानै उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्रीसमेत रहेकी देउवाकी पत्नी डा. आरजु राणा देउवासँग संयुक्त रूपमा बुढानीलकण्ठस्थित देउवा निवासमा भेट गरेका छन्। त्यसअघि चौथाइवालेले गृहमन्त्री रमेश लेखकसँग भेटवार्ता गरेका थिए। यस्तै, कांग्रेस नेता डा. शेखर कोइरालासँग उनले रातिको डिनर बैठकमा छलफल गरेका छन्।
भ्रमणका क्रममा चौथाइवालेले नेकपा (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत भेट्ने कार्यक्रम रहेको छ। साथै सत्ता गठबन्धनका अन्य शीर्ष नेता, प्रतिपक्षी दलका प्रतिनिधि र मधेशी मोर्चाका नेताहरूसँग पनि भेटवार्ता तय भएको स्रोतले जनाएका छन्।
भ्रमणको मुख्य उद्देश्य भारत र पाकिस्तानबीच पछिल्लो समय चुलिएको तनावबारे नेपाली राजनीतिक नेतृत्वलाई जानकारी गराउने र आतंकवादविरुद्धको लडाइँमा भारतप्रति ऐक्यबद्धता कायम गराउने रहेको बताइएको छ।
भारतले गत साता जम्मु कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणमा पाकिस्तानको संलग्नता रहेको ठहर गर्दै कडा कूटनीतिक कदम चालेको छ। उक्त आक्रमणमा २६ जनाको ज्यान गएको थियो। यिनै घटनाक्रमका सन्दर्भमा गृहमन्त्री लेखकसँगको भेटमा चौथाइवालेले भारतको सुरक्षा चासो र नेपालको नैतिक समर्थनबारे कुरा राखेका थिए।
गृहमन्त्री लेखकले चौथाइवालेसँगको भेटबारे सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जानकारी दिँदै नेपाल–भारतबीचको बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउने सकारात्मक संवाद भएको उल्लेख गरेका छन्। उनले चौथाइवालेको नेपाल भ्रमणले द्विपक्षीय सम्बन्धमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।
आक्रमण भएको भोलिपल्ट प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई टेलिफोनमार्फत आतंकवादी आक्रमणको भर्त्सना गर्दै नेपाल भारतको साथमा दृढताका साथ उभिएको धारणा सार्वजनिक गरेका थिए।
नेपाली नेतासँगको भेटमा चौथाइवालेले आतंकवादको विरोधमा नेपालले दिएको ऐक्यबद्धता र समर्थनप्रति धन्यवाद व्यक्त गर्दै त्यसमा निरन्तरता अपेक्षा गर्दै लबिइङ प्रयासहरू जारी राखेका छन्। उनी शुक्रबार भारत फर्किने कार्यक्रम रहेको छ।