विराटनगर– २०७८ चैत ७ मा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिइसकेको एक व्यक्तिको विवरण सम्पादन (एडिट) गरी सोही नम्बर र एप्लिकेन्ट आइडीमा अर्काे व्यक्तिका नाममा नयाँ लाइसेन्स जारी गरिएको भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चारजनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले शुक्रबार विशेष अदालत काठमाडौँमा दायर गरेको आरोपपत्रअनुसार रुपन्देहीको यातायात व्यवस्था कार्यालयबाट जारी गरिएको बी क्याटेगोरी (कार, जीप, भ्यान) लाइसेन्समा विवरण परिवर्तन गरी लिखित तथा ट्रायल परीक्षा नदिएकी सभ्यता केसीका नाममा नक्कली लाइसेन्स जारी गरिएको थियो। उक्त कार्यमा संलग्न रहेका तत्कालीन कम्प्युटर अपरेटर कमल पराजुली, सहायक कम्प्युटर अपरेटर नारायणप्रसाद पाण्डेय र दाङ, तुलसीपुरका तत्कालीन कम्प्युटर अपरेटर अनिल बुढामगरलाई प्रतिवादी बनाइएको छ। लाइसेन्स पाउने सभ्यता केसीलाई मतियारको हैसियतमा मुद्दामा तानिएको छ।

अख्तियारको अनुसन्धानमा इलेक्ट्रोनिक सवारी चालक अनुमतिपत्र तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) प्रणालीमार्फत एप्लिकेन्ट आईडी ८४०१६८५ मा रहेको अर्काे व्यक्तिको विवरण बदलिएर तिलोत्तमा नगरपालिका–४ निवासी केसीका नाममा लाइसेन्स अद्यावधिक गरिएको पुष्टि भएको छ।

आयोगका अनुसार केसीले सवारी चालक अनुमतिपत्र पाउनुपर्ने प्रचलित कानुनी प्रक्रिया—लिखित परीक्षा, ट्रायल लगायत कुनै पनि चरणमा सहभागिता जनाएकी थिइनन्। बरु अर्कै व्यक्तिको सक्कल विवरण गैरकानुनी रूपमा सम्पादन गरी प्रणालीमा फेरेर लाइसेन्स दिलाइएको हो।

आयोगको आरोपपत्रमा भनिएको छ, ‘बदनियत राखी कलुषित मनसायका साथ अर्कै व्यक्तिको नामको सवारी चालक अनुमतिपत्रको विवरण प्रतिवादी सभ्यता केसीको नाममा प्रविष्ट गरी लाइसेन्स जारी गराइएको पुष्टि भएको छ।’

यातायात व्यवस्था विभाग, मीनभवनबाट अख्तियारलाई प्राप्त आधिकारिक जानकारीअनुसार, प्रत्येक एप्लिकेन्ट आईडी एकपटक मात्र प्रयोग गर्न मिल्ने संरचना रहेको र उक्त आईडी अन्य व्यक्तिको नाममा उत्पत्ति हुन नसक्ने प्रावधान तोडिएको स्पष्ट छ।

अख्तियारको दावी अनुसार यो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र ११ अनुसारको कसुर हो। केसीलाई ऐनको दफा २२ बमोजिम मुख्य कसुरदारसरह मान्दै सजाय माग गरिएको छ।

लाइसेन्स किर्ते सम्बन्धी यो अख्तियारले दायर गरेको पहिलो मुद्दा हो, जबकि यातायात व्यवस्था विभागले गत वर्ष मात्रै एक लाख दुई हजार नक्कली लाइसेन्सको विवरण पठाउँदै कारबाहीका लागि आग्रह गरेको थियो।

अख्तियारले चारैजनामाथि गलत लिखत तयार पार्ने, सरकारी कागजातको विवरण सम्पादन गर्ने, भ्रष्टाचारजन्य कार्य गर्ने तथा गैरकानुनी लाभ प्राप्त गराउने आरोपमा मुद्दा चलाएको हो।
 

#अख्तियार#सभ्यता# केसी#मतियार