विराटनगर — राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्व पौडेलले गभर्नर सिफारिस समितिबाट राजीनामा दिएका छन्। उनले आज (आइतबार) राजीनामा दिएको अर्थमन्त्रीको सचिवालयले पुष्टि गरेको छ।
नेपाली कांग्रेसले पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रस्ताव गरेको हो। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सत्तारूढ दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) को शीर्ष नेतृत्व बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले पौडेलको नाम गभर्नरका लागि प्रस्ताव गरेका थिए।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र सभापति देउवाबीच राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टलाई गभर्नर बनाउने सहमति भएको थियो। वैशाख ३ मा उक्त सहमतिपछि भट्टले वैशाख ५ मा कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका थिए। तर कायममुकायम गभर्नर नीलम ढुंगानाले भट्टको राजीनामा स्वीकृत नगरेपछि देउवाले वैकल्पिक रूपमा पौडेलको नाम अगाडि सारेका हुन्।सरकारभित्रको दुई दलीय भागबन्डाअनुसार यसपटक राष्ट्र बैंकको गभर्नर कांग्रेसले लिने सहमति भएको स्रोतले जानकारी दिएको छ।