विराटनगर– मधेस प्रदेशबाट कोशीको मेची राजमार्गअन्तर्गत पाँँचथरस्थिति फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने हेवा खोलामा बेलिबृज बनाउन आएका तीन जनाको मृत्यु भएको छ । मधेस प्रदेशस्थित बाराको सिमरा उपमहानगरपालिका १२ का २२ वर्षीय रुपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय राकेश चौधरीको मृत्यु भएको हो ।  

हेवा खोलामा रहेको निर्माणाधिन बेलिबृज पुल भाँचिदा गम्भीर घाईते भएका उनीहरुको पाँचथर अस्पतालबाट थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका लागि ल्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए । गम्भीर घाइते अन्य तीन जना सिमरा १२ का २५ वर्षीय भुनेश्वर चौधरी, ३५ वर्षीय प्रकाश चौधरी र ३० वर्षीय अभिषेक चौधरीको नोबेल अस्पतालमा उपचार भईरहेको  जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक कौशल कुमार बुढाथोकीले बताएका छन् । 

फिदिम ४ र हिलिहाङ ७ जोड्ने हेवा खोलामा निर्माणाधीन पुल भाँचिएको घटनाबारे भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मन्त्रीस्तरीय निर्णय गरी आइतबार ५ सदस्यीय अध्ययन तथा छानबिन समिति गठन गरेका हुन् । 

सडक विभागका उपमहानिर्देशक ललिजन खनालको संयोजकत्वमा संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय दमकका प्रमुख विनोदकुमार मौवार, सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जीवेन्द्र मिश्र, दमक डिभिजन प्रमुख श्यामकुमार यादव र सडक विभागका सिडीई अमितकुमार वर्मा सदस्य रहने गरी समिति गरेका रहेका छन् । 

समितिलाई सो पुल भत्कनुको कारण, भविष्यमा यस्ता घटना हुन नदिन अपनाउनु पर्ने ससावधानीका लागि सुझाव तथा दुई वटा पुल बगाइसकेको उक्त खोलामा अस्थायी रूपमा यातायात सञ्चालन गर्ने विषयमा स्थलगत अध्ययन तथा छानबिन गरी ७ दिन भित्र प्रतिवेदन पेस गर्न मन्त्री दाहालल् कार्यभार दिइएका हुन् ।