विराटनगर– अनौपचारिक सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश कार्यालय र इन्सेकद्वारा गठित गाउँपालिका स्तरीय मानव अधिकार समूह बर्जुले मंगलबार बर्जु गाउँपालिका–५ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा बृक्षारोपण गरेको छ ।
मानव अधिकार समूहका अध्यक्ष जितनारायण चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा टिक, मसला, अम्बा, अमला, सिसौ जातका २ सय ५० विरुवा बालबालिकाहरुले घरघरमा रोपेका छन् ।
बृक्षारोपणको उद्देश्य र वातावरणीय जिम्मेवारीको बारेमा जानकारी दिँदै इन्सेक सहजकर्ता दीपेन्द्रकुमार झाले जागरूकता जगाउनुका साथै राज्यका निकायहरु र नीति निर्माताहरूलाई दिगो वृक्षारोपणको रणनीतिहरू अपनाउन यस्ता कार्यले प्रभाव पर्ने विश्वास व्यक्त गरेका हुन् ।
कार्यक्रममा बाल क्लब संरक्षक शिक्षक दीपक चौधरी, विद्यालय व्यवस्थापन समिति सदस्य राजकपुर चौधरी, शिक्षकहरु बैशनाथ चौधरी, रंगराज काफ्ले, गणेश यादव, पूर्णिमा चौधरी, गुलजरीया यादवले जलवायु परिवर्तनको असर न्यून गर्न बृक्षारोपणले मद्दत गर्ने विचार व्यक्त गरेका थिए ।
प्रत्येक विद्यार्थीलाई रूख रोप्न प्रोत्साहित गरेर वातावरण संरक्षणलाई प्रवर्द्धन गर्ने उद्देश्यले एक विद्यार्थी, एक वृक्षारोपण अभियान सुरु गरिएको इन्सेक कोशी प्रदेश कार्यालयले जनाएको छ । मानवकै गतिविधिले हरितगृह ग्याँस उत्सर्जन र जलवायु परिवर्तन भएर वातावरणले कष्ट भोग्नुपरेको र जलवायुका जोखिमहरू भोग्नु परिरहेको छ । कोशी प्रदेश संयोजक मनोहरकुमार पोखरेलले मानवद्वारा भइरहेको पृथ्वीको विनाशबाट बचाउने उत्तरदायित्व मानवकै भएकोले यो कार्यक्रममार्फत जलवायु संरक्षणमा व्यक्तिगत र सामुदायिक सहभागितालाई सुदृढ पार्न खोजिएको बताएका छन् । यो अभियान विश्व वातावरण दिवस ५ जुन २०२५ देखि अन्तर्राष्ट्रिय जलवायु कार्य दिवस २३ अक्टोबर २०२५ सम्म चल्ने उनले बताएका हुन् । ।