–जबसम्म श्रम, इमान र पौरखलाई सम्मान गरिँदैन, भ्रष्टाचार एउटा ‘संस्कृति’ बनी रहनेछ।
–त्यो भव्य महलको ढोकाबाहिर उभिने म जस्ता लाखौँ मान्छेहरुप्रति समाजको दृष्टिकोण नबदलिएसम्म केही पनि फेरिँदैन।
–नेपालमा भ्रष्टाचारको जरो केवल राजनीतिमा होइन, नागरिक समाजको सोचमा पनि लुकेको छ । 

विराटनगर– यो विचार लेख(ओपेड आर्टिकल)मा एक सञ्चारकर्मीको अनुभवमार्फत समाजको दोहोरो चरित्रलाई गहिरो विश्लेषण गरिएको छ :–

२०७१ सालतिरको कुरा हो, म सपरिवार काठमाडौँको सुविधानगर, तीनकुनेमा बस्थेँ। डेरा नजिकैको एक राष्ट्रिय दैनिकको केन्द्रीय कार्यालयको समाचार कक्षमा कार्यरत थिएँ, कार्यालय र कोठा बीचको दूरी हिँडेरै तय हुने खालको थियो। नेकपा (माओवादी केन्द्र)को पेरिसडाँडा मुख्यालयमुनिको आवासीय क्षेत्र हो यो । सेरोफेरोका छिमेकीमध्ये एकजना शिक्षक थिए, जससँग प्रायः चौबाटोको चिया पसलमा भेट हुन्थ्यो।

त्यही टोलमा एकजना अवकाशप्राप्त सैन्य अधिकृत पनि बस्थे—उनी २०६२/०६३ को आन्दोलनताकाका उपत्यका पृतनापती भए जस्तो लाग्छ। उनका एक सन्तानको विवाहको दिन गाडीको लस्कर सडकदेखि चोकसम्म देखिन्थ्यो। भव्य भोज थियो, सुविधानगरमा ठूलो हलचल थियो। तर उनको घरको ठिक अघिल्तिरको घरमा बस्ने मलाई र ती शिक्षकलाई निम्तो थिएन।

चिया पसले दिदीले मुख खोलिन् — ‘पैसाले पैसा तान्छ। परिवारबाहेक, उद्योगी, व्यापारी र गुण्डानाइके मात्र बोलाएका छन् रे। कार्ड दिन पृतनापती आफैँ त्यही गुण्डाको घर पुगेका थिए रे।’

विवाहपछिको भेटमा ती सैनिक अधिकारीले गर्वसाथ भने — ‘कोटेश्वर चोकदेखि तपाईं बसेको घरसम्म हाम्रै पाहुनाका गाडी थिए।’ सान देखाउँदै बोलिरहेका थिए, तर मलाई त्यो संवाद अलिक पीडादायी लाग्यो। किनकि त्यो भोजले एउटा कुरो चिच्याएर भनिरहेको थियो — जसको हातमा धन र पहुँच छैन, उसलाई समाजले देख्दैन, बोलाउँदैन र मान्दैन।

यही हो हाम्रो समाजको मूल रोग — धनविहीनलाई हेय दृष्टिले हेर्ने प्रवृत्ति, शक्ति र सम्पत्तिलाई सम्मान गर्ने संस्कृति। यही प्रवृत्तिले भ्रष्टाचारलाई मलजल गरिरहेको छ। ती सैनिक अधिकारी मात्र होइन, समाजका हरेक तहमा शक्ति, सम्पत्ति र पहुँचका आधारमा मान्छेको मूल्य तोकिन्छ। जो खटेर बाँच्छ, इमानदार रहन्छ, उसलाई बोलाउने कोही हुँदैन। उसले सत्ता, संगठन र समाज — तीनै ठाउँमा तुच्छ व्यवहार भोग्दछ।

धेरै जसो गरीब, मध्यम वर्गीय, श्रमजीवीहरुलाई राजनीतिक दलले प्रयोग गर्छ — मतको लागि, जुलुसको लागि, जनशक्ति प्रदर्शनको लागि। अनि  उद्देश्य पुरा भएपछि उनीहरुलाई बिर्सिन्छन्। नागरिक समाजको पनि उस्तै द्वैध र आपराधिक सोच — सडक, चोक र गल्लीमा पसिना बगाउने श्रमिकहरूलाई उपेक्षा गर्छ। तर हाम्रो समाजले करोडौँ लुट्ने भ्रष्टहरूलाई ‘धनी भएछ’ भन्दै सलाम ठोक्छन्।

पैसावालाको घरमा भव्य भोज छ भने निम्तो एवं सम्मानको मापदण्ड ‘शक्ति र पैसा’ हो। यो मापदण्डले निर्धन, स्वाभिमानी, मिहिनेत गर्ने वर्गलाई अपराधी बन्न बाध्य बनाउँछ। जसरी भए पनि सम्पत्ति जोड्नुपर्छ भन्ने मानसिकता समाज आफैले हुर्काइरहेको छ। अनि भोलिपल्ट त्यही समाजले चिया पसल र फेसबुकमा कराउँछ — ‘भ्रष्टाचार बढ्यो !’

हो, भ्रष्टाचार बढ्नुको जिम्मेवार पात्रहरू संसदमा मात्र छैनन् — हामी सबै हौं, यो समाज हो। यो समाजले नै देखाएर सिकाउँछ — गाडी छैन? त मजाकको पात्र; घर छैन? त सानो मान्छे; जम्मा सम्पत्ति छैन? त सक्षम मानिँदैन। अनि यहाँ श्रम, विवेक र इमानको कदर छैन।

आजको नेपाली समाजमा दुईथरी मात्र नागरिक बाँकी छन् —
१. जसरी भए पनि अथाह सम्पत्ति जोड्ने,
२. त्यसलाई प्रयोग गरेर स्रोत, सत्ता र सञ्जालमा खेल्न जान्ने।

बाँकी श्रमजीवी, मिहिनेतकर्मी, सीमान्तकृत नागरिक समाजको नजरमा अयोग्य ‘पात्र’ हुन्।

टोलमा कसैले गाडी किन्यो वा महँगो घर बनायो भने त्यसको स्रोत सोध्ने कोही हुँदैन। प्रश्न होइन, प्रशंसा गरिन्छ — ‘प्रगति गर्याे बा उसले !’ अनि समाजले उही काम गर्न बाँकीलाई प्रेरणा दिन्छ — जसरी भए पनि पैसा कमाऊ, घर बनाऊ, गाडी किन। यही सोच भ्रष्टाचारको जग हो। अनि उही समाज फेरी ‘भ्रष्टाचार हटाऊँ’ भन्दै अभियान चलाउँछ।

त्यसैले भन्न मन लाग्छ —
जबसम्म समाजले इमानदार र असल मान्छेको कदर गर्दैन,
जबसम्म श्रमको सम्मान हुँदैन,
जबसम्म मान्छेको मूल्य सम्पत्तिले तोकिन्छ,
भ्रष्टाचार रोकिन्न — पात्र मात्र फेरिन्छ, प्रवृत्ति फेरिँदैन।

‘पैसाले पैसा तान्छ, निम्तो पनि तान्छ ।’
— चिया पसलकी दिदीले सुनाउनु भएको यो भनाइ मेरो मानसपटलमा टाँसिएर बसेको छ।

त्यो भव्य विवाह समारोहमा देशका ठूला उद्योगी, व्यापारी, गुण्डा, नेता र धनाढ्यहरुको भीड थियो। तर चिया पसले, शिक्षक र म जस्ता ‘सामान्य’ मान्छेहरूलाई ती सैन्य अधिकारी तथा उनीसँग जोडिएका वरिपरिका समाजले निम्तोका लागि योग्य ठानेन।

जबसम्म गाडी, घर र पैसा छैन, तबसम्म तपाईं समाजको नजरमा आदर गरिने लायकको हुनुहुन्न। समाजले कहिले सोध्दैन, तपाईंले कति इमानदारीपूर्वक काम गर्नुभयो ? त्यो साटो सोध्छः

‘घर बनाउनु भयो कि भएन?’
‘लखरलखर हिंड्न छाडेर गाडी किन्नु परेन?’

भ्रष्टाचारीको उत्पादनमा वा भ्रष्टहरुको संख्या बढाउनमा नागरिक समाज पूरै दोषी छ । भ्रष्टाचारको विरोध गर्ने समाजले नै भ्रष्टाचारलाई मलजल गरिरहेको छ। जसले भर्खर घर बनायो, गाडी किन्यो — त्यो ‘प्रगति गरेको’ भन्छन्। कसैले सोध्दैन, पैसा कहाँबाट आयो?

फुटपाथमा १० रुपैयाँको सामानमा मोलतोल गर्ने समाज, करोडौँ ठग्ने, लुट्ने र घूस खानेलाई सम्मान गर्छ।नागरिक समाज, राजनीतिक दल र मिडिया — कसैले पनि श्रमजीवी वर्गलाई नायक मान्दैन। उनीहरुलाई प्रयोग गर्ने बस्तु सम्झिन्छः कहिले प्रचारका लागि, कहिले मतदानका लागि।

जबसम्म श्रमको इज्जत हुँदैन, तबसम्म भ्रष्टाचार संस्कार बन्छ।आज हामीसँग भ्रष्टाचारको अन्त्यका लागि नीति त छ, नियत छैन। जबसम्म समाजले धनभन्दा बढी श्रम र इमानको मूल्यांकन गर्दैन, तबसम्म हरेक टोलमा ‘निम्तो नपाएका अनुहार’हरू देखिनेछ, घूसखोर बढिरहनेछ । हाम्रो समाजको सोच नै भ्रष्टाचारी उत्पादनको कारखाना हो ।

#भ्रष्टाचारी

(आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर, तीन दशकभन्दा बढी समयदेखि ग्रामीण क्षेत्रदेखि काठमाडौँसम्म मूलधारको पत्रकारितामा सक्रिय ‘द नेप्लिज डट कम’ का प्रधान सम्पादक जितेन्द्र साहको यो व्यक्तिगत विचार हो । साह कुनै पनि राजनीतिक दल निकट पत्रकार संघ, संगठन, मञ्च, युनियन, चौतारी वा समाज लगायतमा आबद्ध छैनन् भन्ने कुरा प्रष्ट गर्न चाहन्छौं ।)