विराटनगर– बिरयानी पारखीहरूलाई ध्यानमा राख्दै काठमाडौंको ‘बिरयानी अड्डा’ले विराटनगरस्थित महेन्द्र चोकमा शाखा विस्तार गर्दै बिहीबारबाट सञ्चालनमा ल्याएको छ ।
युवा उद्यमी तथा उद्योग संगठन मोरङका सदस्य प्रतीक राउतले एक कार्यक्रमका बीच ‘बिरयानी अड्डा’ को उद्घाटन गरेका छन् । उनले ‘बिरयानी अड्डा’को उद्घाटनपछि विराटनगरवासीलगायत छिमेकी भारतीय बजारका बिरयानी पारखीहरूले नयाँ स्वाद चाख्न पाउने बताएका छन् । उनले व्यावसायिक सफलताको शुभकामनासमेत दिएका हुन् ।
राउतले काठमाडौंमा ‘बिरयानी अड्डा’ ले जसरी बिरयानीलगायत विभिन्न खानाका परिकारमा स्वाद दिँदै ग्राहकहरूलाई सन्तुष्टि दिलाएर सफलता प्राप्त गरेको छ त्यसरी नै विराटनगरमा पनि खानाको स्वाद पस्केर सबैलाई सन्तुष्टि दिलाउने विश्वास व्यक्त गरेका छन् ।
बिरयानी अड्डाका निर्देशक सविन पाण्डेले छैटौँ आउटलेटका रूपमा विराटनगरमा आजदेखि सेवा विस्तार गरेको जानकारी दिएका हुन् । ‘काठमाडौंमा २०७६ सालदेखि खानाका पारखीहरुलाई सेवा गर्दै आएका छौं,’ पाण्डेले भने, ‘अहिले हामी छैटौँ वर्षमा दौडिइरहँदा छैटौँ आउटलेटका रूपमा उपत्यका बाहिर पहिलो पटक विराटनगरमा शाखा विस्तार गर्न सफल भएका छौं । काठमाडौं, ललितपुर र भक्तपुरमा ५ वटा आउटलेट छन् ।’
विराटनगरकी मोनिका निशाले ‘बिरयानी अड्डा’को शाखा विराटनगरमा ल्याएकी हुन् । ‘बिरयानी अड्डा’मा विभिन्न स्वादका बिरयानी पाउनुका साथै पिजा, तन्दुरीलगायत खानाका परिकारहरूका साथै लाइभ म्युजिकको समेत मज्जा लिन पाइने उनले बताइन् ।