विराटनगर– क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले आफ्नो देशले अमेरिकाबाट सम्मान पाउनुपर्ने बताएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पसँग व्यापार तथा सुरक्षासम्बन्धी वार्ता केवल ‘हाम्रै सर्तमा’ हुने स्पष्ट गरेका छन्।
मतगणना सकिन लाग्दा बीबीसीलाई विशेष अन्तरवार्ता दिँदै कार्नीले भने, ‘क्यानाडाको सार्वभौमिकता सम्मान हुने गम्भीर छलफल हुने अवस्था आयो भने मात्र म वाशिङ्टन जान्छु।’
राष्ट्रपतिमा पुनः निर्वाचित भएदेखि नै डोनाल्ड ट्रम्पले क्यानाडालाई बारम्बार अमेरिका अन्तर्गतको ‘५१औं राज्य’ बनाउने कुरा उठाउँदै आएका छन्, जसले क्यानाडावासीलाई आक्रोशित तुल्याएको छ।
सोमबार सम्पन्न आकस्मिक निर्वाचनमा ऐतिहासिक जित दर्ता गरेका कार्नीले यस्तो परिकल्पना ‘कहिल्यै पनि सम्भव नहुने’ दाबी गरे।
‘खुला रूपमा भन्नुपर्दा, म कुनै पनि देश — चाहे त्यो पनामा होस्, ग्रीनल्याण्ड होस् वा अरू कुनै — का सन्दर्भमा पनि यस्तो कुरा कहिल्यै सम्भव हुने देख्दिन,’ उनले थपे।
तर उनले यो पनि भने कि अमेरिका, युरोपेली संघ तथा बेलायतसँग समानान्तर व्यापारिक साझेदारी बनाउने हो भने त्यसबाट क्यानाडालाई ‘दुवै पक्षको जित हुने सम्भावना’ रहन्छ।
तनावग्रस्त अमेरिका–क्यानाडा सम्बन्ध
क्यानाडाका लागि अमेरिका सबैभन्दा ठूलो बजार हो, जहाँ क्यानाडाको झण्डै ७५ प्रतिशत निर्यात जान्छ। तर, अमेरिका तर्फ भने क्यानाडाले जम्मा १७ प्रतिशत मात्र निर्यात गर्दछ।
क्यानाडा अमेरिका लागि सबैभन्दा ठूलो विदेशी कच्चा तेल आपूर्तिकर्ता हो। सन् २०२४ मा अमेरिकाको अनुमानित ४५ अर्ब डलर व्यापार घाटाको मुख्य कारण ऊर्जा आवश्यकताले नै हो।
ट्रम्पले पूर्व प्रधानमन्त्री जस्टिन ट्रुडोलाई अमेरिकी राज्यका गभर्नरसरह ‘गभर्नर’ भन्दै सम्बोधन गरेपछि दुई देशबीचको कूटनीतिक सम्बन्धमा थप चिसोपना देखिएको छ।
ट्रम्पको विश्वव्यापी व्यापार नीतिले क्यानाडा पहिलो निसानामा प¥यो। उनले क्यानाडाबाट आयात हुने थुप्रै वस्तुहरूमा २५ प्रतिशत कर लगाएका छन्। एलुमिनियम र स्टिल आयातमा पनि समान कर लागु गरिएको छ। तर अमेरिका–क्यानडा–मेक्सिकोबीच सन २०२० मा भएको सम्झौता अन्तर्गतका वस्तुहरू यस करबाट मुक्त छन् । यसले यी तीन देशका बीचमा भन्सार शुल्क घटाउने, उद्योग, कृषि, डिजिटल व्यापार लगायतका क्षेत्रमा नियम र अधिकार स्पष्ट गर्ने काम गर्छ।
यसको प्रत्युत्तरस्वरूप क्यानाडाले करिब ६० अर्ब क्यानाडेली डलर (४२ अर्ब अमेरिकी डलर) बराबरको अमेरिकी सामानहरूमा प्रतिशोधात्मक कर लगाएको छ।
प्रधानमन्त्री कार्नीले भने, ‘वार्ता हाम्रो सर्तमा हुनेछ, उनीहरूको सर्तमा होइन।’
‘एक आर्थिक र सुरक्षा साझेदारी बन्न सक्छ,’ उनले भने, ‘तर त्यो विगतको जस्तो हुँदैन — पूर्ण रूपमा नयाँ प्रकारको हुनेछ।’
अनुभवले बलियो नेतृत्व
ट्रम्पका भन्सार करहरू विरुद्ध आफूले अघिल्लो अनुभवको आधारमा डटेर सामना गर्न सक्ने दाबी कार्नीले गरेका छन्।
राजनीतिक रूपमा कुनैपनि निर्वाचित पद सम्हालेको अनुभव नहुँदा नहुँदै मार्चमा प्रधानमन्त्री बनेका कार्नी पेशाले बैंकर हुन्। उनले सन् २००८ को विश्वव्यापी आर्थिक संकटको समयमा बैंक अफ क्यानडाको नेतृत्व गरेका थिए। त्यसपछि उनी सन् २०१३ देखि २०२० सम्म बैंक अफ इङ्ल्यान्डको गभर्नर बने र त्यस पदमा पुग्ने पहिलो गैरबेलायती व्यक्ति भए।
कार्नीले भने, ‘क्यानडा अमेरिका भित्रका ४० भन्दा बढी राज्यहरूको सबैभन्दा ठूलो ग्राहक हो।’
‘हामी उनीहरूलाई ऊर्जासम्बन्धी अत्यावश्यक आपूर्ति गर्छौं। उनीहरूका किसानलाई चाहिने झण्डै सबै मल क्यानाडाबाट जान्छ,’ उनले बीबीसीसँग भने।
‘हामी सम्मानका हकदार छौं। हामी सम्मानको अपेक्षा गर्छौं र त्यो फेरि प्राप्त हुनेछ भन्ने विश्वास छ। त्यसपछि मात्र यस्ता संवादहरू हुनसक्छन्।’
क्यानाडा, अमेरिका र मेक्सिकोबीचको अर्थतन्त्र गहिरो रूपमा एकीकृत छ। अर्बौं डलर बराबरको सामान — जस्तै कार पाट्र्स — दैनिक रूपमा सीमाना पार गर्छ।
तर भन्सार कर लगाउने ट्रम्पको नीतिले दशकौंदेखिको साझेदारीमा संकट ल्याएको छ। ट्रम्पको भनाइमा यस्तो कदमले अमेरिकी उपभोक्तालाई घरेलु उत्पादन रोज्न प्रेरित गर्नेछ, जसले उत्पादन र रोजगारी बढाउनेछ।
मित्र राष्ट्रहरूसँगको व्यापार ’परीक्षणमा’
ट्रम्पको व्यापार नीति चीनमुखी देखिए पनि उनले बेलायत, युरोपेली संघलगायत अन्य मित्र राष्ट्रहरूलाई पनि पारस्परिक कर लागू गरी प्रभावित पारेका छन्। त्यसको असरस्वरूप मित्र देशहरूले नयाँ व्यापार सम्झौताको खोजी गरिरहेका छन्।
कार्नीले बेलायतको आम निर्वाचनमा चान्सलर रेचल रिभ्सलाई समर्थन गरेका थिए। उनले भने, ‘क्यानडा र बेलायतबीचको स्थगित स्वतन्त्र व्यापार सम्झौता अब सम्भव हुन सक्छ भन्ने अपेक्षा गर्न सकिन्छ।’ तर उनले उल्लेख गरे कि अहिले झण्डै ९५ प्रतिशत व्यापार पहिले नै करमुक्त भइसकेको छ।
‘हामी समान विचारधाराका देशबीच आपसी समन्वय र एकता बढाउन सक्छौं। रक्षा साझेदारीका बारेमा संवाद सुरु भइसकेका छन्,’ उनले थपे।
बेलायती प्रधानमन्त्री सर कीर स्टार्मरले प्रधानमन्त्री कार्नीलाई बधाई दिँदै भने, ‘हामी रक्षा, सुरक्षा, व्यापार र लगानीमा अझ घनिष्ट सहकार्य गर्नेछौं भन्नेमा म विश्वस्त छु।’
कार्नीका अनुसार क्यानाडाले जुनमा आयोजना गर्ने जी–७ शिखर सम्मेलन ‘विश्व व्यापार युद्धको भविष्य निर्धारणमा अत्यन्त महत्वपूर्ण’ हुनेछ। उनले भने, ‘यसले यो कुरा परीक्षण गर्नेछ — के विश्वका सबैभन्दा सम्पन्न सात राष्ट्रहरू अझै पनि समान विचारधाराका राष्ट्रहरूको समूह हुन् वा होइनन्।’
यो सम्मेलन त्यतिबेलासम्म हुनेछ, जतिबेला ट्रम्पले लादेका केही उच्च भन्सार करहरूमा भएको ९० दिनको ‘अस्थायी विराम’ समाप्त हुँदैछ।