विराटनगर– पूर्वाञ्चल विश्वविद्यालय कला, कानून तथा शिक्षा संकायको डीन कार्यालयले सञ्चालन गरेको चार दिने अनुसन्धानात्मक लेख लेखन तथा प्रकाशन सम्बन्धी तालिम बुधवार सम्पन्न भएको छ ।
तालिमको समापन गर्दै अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक प्रा. डा. मिन राज ढकालले तालिममा प्राप्त ज्ञानलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिएका हुन् । राम्रो जर्नलले छाप्दैन कि, राम्रो लेख्न सक्दिन कि भन्ने जस्ता हिनताबोध हटाएर अनुसन्धानात्मक लेख लेख्न ढकालले सुझाव दिएका छन् ।
प्रशिक्षक तथा सहप्राध्यापक डा. कृष्ण प्रसाद पाण्डे, पाठ्यक्रम अनुसन्धान तथा विकास केन्द्रका कार्यकारी निर्देशक प्रा.डा. मेदिनी प्रसाद शर्मा, अनुगमन तथा मूल्याङ्कन केन्द्रका निर्देशक डा. उत्तम रेग्मी, पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघका सभापति यज्ञ प्रसाद जम्मरकट्टेल, प्रशिक्षार्थीको तर्फबाट राखी श्रीवास्तव र गीरिश भट्टराईले मन्तव्य राखेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्नेहरुले यस्ता कार्यक्रम विश्वविद्यालयको पात्रोमै समावेश गराएर नियमित रुपमा सञ्चालन गर्न सुझाव दिएका थिए । असारमा कार्यक्रम गर्नु नराम्रो भन्ने भाष्य निर्माण भएको हुनाले आर्थिक वर्षका शुरुका दिनमै कार्यक्रम सञ्चालन गर्न वक्ताहरुले सुझाव दिएका छन् ।
कार्यक्रमको समापन गर्दै कला, कानून तथा शिक्षा संकायका डीन राम प्रसाद ढकालले आगामी दिनमा प्राध्यापकहरुको क्षमता अभिवृद्धि गर्ने यस्ता कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिएका छन् ।
तालिममा पूर्वाञ्चल विश्वविद्यालयका विभिन्न आंगिक क्याम्पसका २२ जना शिक्षक, शिक्षिकाहरुको सहभागिता रहेको थियो । गुणात्मक तथ्याङ्क विश्लेषण, मात्रात्मक तथ्याङ्क विश्लेषण, अनुसन्धानात्मक लेख लेखनमा कृत्रिम बुद्धिमताको प्रयोग, अनुसन्धातात्मक लेख प्रकाशनको प्रकृया, उपयुक्त जर्नलको छनौट लगायतका विषयमा सहभागिहरुलाई सहप्राध्यापकद्वय डा. कृष्ण प्रसाद पाण्डे, डा. रमेश बावु काफ्ले र शान्तीराम दाहालले प्रशिक्षण दिएका थिए ।