विराटनगर– ज्वाइले सासु, ससुरा, पत्नी र १० वर्षीय सालोको हत्या गरेको छ । भोजपुर नगरपालिका २ हेलौछाका राजेन्द्र राईले रामप्रसाद राई गाउँपालिका–२ धोदलेखानीस्थित ससुराली घरमा १६ वर्षीया पत्नी,  ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, सासु मन्जु गिरी र १० वर्षीय सालोको शनिबार राती १ बजे धारिलो हतियार प्रहार गरी हत्या गरेको हो । 

राजेन्द्रले आफै जिल्ला प्रहरी कार्यालय भोजपुरको कन्ट्रोल रुपममा राती १ः१५ बजेतिर फोन गरी ‘आफूमाथि चक्कु प्रहार भएकोले मैले मान्छे मारेँ, मलाई पक्राउन गर्न आउनुस्’ भनेर जानकारी गराएको प्रहरी निरीक्षक दीपक श्रेष्ठले बताएका छन् । ‘घटनाको जानकारी प्राप्त भएपछि तत्काल तत्काल अस्थायी प्रहरी चौकी ओख्रेबाट प्रहरी सहायक निरीक्षक अशोक कुमार खवास र जिल्ला प्रहरी कार्यालय भोजपुरबाट हबल्दार नेतृत्वको टोली घटनास्थल पुगेका थिए,’ उनले भने, ‘घटनास्थलमा बेलबहादुर, मन्जु, उनकी पत्नी र सालोको सव फेला परेको थियो ।’ 

प्रहरीले राजेन्द्रलाई घटनास्थलबाट करिब ५ किलोमिटर टाढा रामप्रसाद राई गाउँपालिका वडा नम्बर १ हर्बुभञ्ज्याङ भन्ने ठाउँमा घाइते अवस्थामा नियन्त्रणमा लिई जिल्ला अस्पताल भोजपुरमा भर्ना गराएको प्रहरी निरीक्षक श्रेष्ठले बताएका हुन् । राजेन्द्रको पेटमा धारिलो हतियार प्रहारबाट घाइते रहेको उनले बताएका छन् । 

राजेन्द्रले शनिबार राति करिब ११ बजे सासु आमाले चक्कुले हानेपछि चार्र जनाको हत्या गरेको प्रारम्भिक बयान दिएको श्रेष्ठले बताएका हुन् । राजेन्द्रले वर्ष दिन अघि प्रेम विवाह गरेका थिए । घटनाको बारेमा थप छानबिन भइरहेको उनले बताएका छन् ।