काठमाडौं — भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आसन्न क्रोएसिया, नेदरल्यान्ड्स र नर्वे भ्रमण स्थगित गरेका छन्। भ्रमण स्थगनको आधिकारिक कारण सार्वजनिक गरिएको छैन।तर भारतले पाकिस्तानमाथि गरेको ताजा हवाई आक्रमणलगत्तै भ्रमण स्थगित गरिएको हो।
भारतले मंगलबार राति पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा हवाई आक्रमण गरेको थियो। ‘अपरेसन सिन्दूर’ नाम दिइएको उक्त सैन्य कारबाहीमा कम्तीमा ३० पाकिस्तानीको मृत्यु भएको र ४६ जना घाइते भएको जनाइएको छ।
भारतीय पक्षले भने उक्त आक्रमण सीमापारबाट भइरहेका निरन्तर गोलाबारीको जवाफस्वरूप भएको दाबी गरेको छ। एक शीर्षसैन्य अधिकारीका अनुसार सीमामा पाकिस्तानतर्फको गोलीबारीबाट भारतका १० सर्वसाधारणको ज्यान गएको र ३२ जना घाइते भएका छन्। यी सबै घटना भारत–पाकिस्तानको सीमा नियन्त्रण रेखा (एलओसी) नजिकको पुंछ जिल्लामा भएको बताइएको छ।
पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले पाँच भारतीय लडाकु विमान खसालिएको दाबी गरेका छन्। रोयटर्सले साझा गरेको भिडियोमा उनले भने, ‘अहिलेसम्म, म तपाईंलाई पुष्टि गर्न सक्छु, पाँच भारतीय विमान खसालिएको छ, जसमा तीन राफेल, एक एसयू–३०, एक मिग–२९ र एक हेरोन ड्रोन छन्।’
भारतले यसबारे कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।भारतको विदेश मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा सचिव विक्रम मिश्रीले पाकिस्तानतर्फको आक्रमणलाई ‘सीमापार आक्रमणको जवाफ दिने अधिकारको प्रयोग’ भनेका छन्।
पाकिस्तानका रक्षामन्त्री ख्वाजा मोहम्मद आशिफले भारत आक्रामक कदमबाट पछि हटेमा पाकिस्तान पनि तनाव अन्त्यका लागि तयार रहेको बताएका छन्। ब्लुम्बर्ग टेलिभिजनसँगको अन्तर्वार्तामा उनले भने, ‘हामी भारतविरुद्ध शत्रुतापूर्ण व्यवहार सुरु गर्दैनौँ, तर आक्रमण भएमा कडा जवाफ दिनेछौँ।' भारत र पाकिस्तानबीचको चुलिँदो तनावसँगै अन्तर्राष्ट्रिय समुदायले दुवै मुलुकलाई संयम अपनाउन आह्वान गरेको छ।