विराटनगर– अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)को कोशी प्रदेश कार्यसमितिका उपाध्यक्षमा विराटनगरका मो. नसरुल चयन भएका छन् । उनी जसपाका मोरङ अध्यक्षको जिम्मेवारीमा समेत रहेका छन् ।
जसपाको पुनर्गठिन कोशी प्रदेश कार्यसमितिको नेतृत्व गणेश राईले पाएका हुन् । उपाध्यक्षमा मो. नसरुल र डिल्ली सुब्बालगायत ४९ सदस्यीय प्रदेश कार्यसमिति चयन भएको हो । जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा किरात राष्ट्रिय समितिका अध्यक्ष रमेश राईको अध्यक्षतामा धरानमा सम्पन्न प्रदेशस्तरीय भेलाले प्रदेश कार्यसमिति पुनर्गठित भएको नवनियुक्त उपाध्यक्ष नसरुले बताएका हुन ।
कार्यक्रममा जसपाका अध्यक्ष तथा पूर्वमन्त्री अशोक राईले आउँदो निर्वाचनका लागि बिभिन्न पार्टीसँग सहकार्यका लागि पहल र वार्ता भइरहेको बताएका हुन् । उनले राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी र नागरिक उन्मुक्ति पार्टीसँग चुनावी गठबन्धन गर्ने सहमति भइसकेको र अहिले धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रमसंस्कृति पार्टी र कुलमान घिसिङको उज्यालो नेपाल पार्टीसँग चुनावी मोर्चाबन्दीका लागि छलफल भइरहेको बताएका हुन् । अध्यक्ष राईले मोर्चाबन्दीपछि निर्वाचन क्षेत्रहरुमा उम्मेदवार छनोटको काम चाँडे सुरु हुने स्पष्ट पारेका छन् ।
उपाध्यक्ष नसरुलले मोरङको क्षेत्र ६ बाट आउँदो प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने तयारी गरेका छन् । मोरङ क्षेत्र ६ बाट यसअघि निर्वाचित भएका शेखर कोइरालाको नाम नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्वसम्मतरुपमा सिफारिस गरेको छ । नसरुल मोर्चाबन्दीको प्रभावले मोरङ क्षेत्र ६ आफ्नो लागि अनुकुल रहने बताएका हुन् ।