रियाद (साउदी अरेयिबा) — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू शान्तिप्रेमी भएको दाबी गर्दै भारत र पाकिस्तानबीचको युद्धविराममा आफ्नो मध्यस्थता प्रभावकारी भएको बताएका छन्। मंगलबार साउदी अरेबियाको राजधानी रियादमा आयोजित कार्यक्रममा उनले भने, ‘मेरो सबैभन्दा ठूलो सपना शान्ति स्थापना गर्नु हो। म विभाजन होइन, एकता चाहन्छु। मलाई युद्ध मन पर्दैन।’

भारत र पाकिस्तानबीचको तनाव कम गर्न व्यापारको माध्यमबाट आफूले प्रयास गरेको बताउँदै ट्रम्पले भने, ‘मैले भारत र पाकिस्तानलाई भनेँ— मित्रहरू, एउटै सम्झौता गरौँ। केही व्यापार गरौँ। परमाणु मिसाइलहरूको होइन, ती सामानहरूको व्यापार गरौँ जुन तपाईंहरूले निकै सुन्दर तरिकाले बनाउनुहुन्छ।’ उनले दुवै देशलाई युद्ध नरोके व्यापार पनि नगर्ने चेतावनी दिएको दाबी गरे।

भारत–पाकिस्तान युद्धविरामबारे ट्रम्पको यो चार दिनभित्रको चौथो अभिव्यक्ति हो। सोमबार पनि उनले ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै सम्भावित परमाणु युद्ध रोक्न सफल भएको दाबी गरेका थिए। उनले भनेका थिए, ‘मैले दुवै देशलाई सम्झाएँ— यदि लडाइँ रोकिने होइन भने व्यापार पनि हुने छैन।’

उनले युद्ध भएमा लाखौं मानिसको ज्यान जाने जोखिम रहेको भन्दै चिन्ता व्यक्त गरे।तर आफूलाई युद्ध मन नपर्ने बताउने ट्रम्पले रियाद भ्रमणका क्रममा साउदी अरेबियासँग १४२ अर्ब अमेरिकी डलरको हतियार सम्झौतामा हस्ताक्षर गरेका छन्। ह्वाइट हाउसले यसलाई ‘इतिहासकै ठूलो रक्षा सहकार्य सम्झौता’ भनेको छ। सम्झौतामा हवाई तथा क्षेप्यास्त्र सुरक्षा प्रणाली, समुद्री सुरक्षा र साउदी सेनाका लागि तालिमसमेत समावेश छन्।

यो सम्झौता साउदीले अमेरिकामा ऊर्जा, खानी, प्रविधि र रक्षा क्षेत्रमा गर्ने ६ सय अर्ब डलर लगानी प्रतिबद्धताको हिस्सा हो। साउदी–अमेरिका लगानी मञ्चमा ट्रम्पले यसलाई ‘दुई देशबीचको साझेदारीको नयाँ स्वर्ण युगको सुरुआत’ भएको बताएका थिए।

ट्रम्पको चारदिने मध्यपूर्व भ्रमण अन्तर्गत भएको यो सम्झौतापछि सामाजिक सञ्जालमा आलोचना र प्रशंसाको मिश्रित प्रतिक्रिया आएको छ। कतिपय प्रयोगकर्ताले ट्रम्पको ‘शान्ति’ को कुरा र हतियार बिक्रीबीच विरोधाभास रहेको औंल्याएका छन्। ‘युद्ध मन नपराउनेले यति ठूलो हतियार सम्झौता किन गर्छन्?’ भनेर एक प्रयोगकर्ताले एक्समा प्रश्न गरेका छन्। अर्कोतर्फ केहीले भने यसले अमेरिकामा रोजगारी सिर्जना गर्ने भन्दै प्रशंसा गरेका छन्।

ट्रम्पले साउदीलाई अब्राहम सम्झौताअन्तर्गत इजरायलसँग सम्बन्ध सामान्यीकरण गर्न आग्रह गर्दै क्षेत्रीय स्थायित्वप्रति आशा पनि व्यक्त गरे। ‘हजार वर्षपछि पहिलोपटक यो क्षेत्रलाई अशान्तिको होइन, अवसर र आशाको भूमिका रूपमा हेरिनेछ,’ उनले भने।
 

#ट्रम्प