विराटनगर- सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा शनिबार बिहान भएको आगलागीमा केही सरकारी कागजात जल्नुका साथै मन्त्री प्रदीप यादवको कार्यकक्ष नष्ट भएको छ। विद्युत सर्ट भएर आगो लागेको प्रहरीको प्रारम्भिक अनुमान छ। विधुत तार व्यवस्थित नहुँदा घटना भएको  मन्त्रीका सचिवालयका एक कर्मचारीले बताए । विगतमा पनि कार्यकक्षमा तारहरु जल्ने गरेको उनले जानकारी दिए ।

बिहान अकस्मात् मन्त्रीको कार्यकक्षमा लागेको आगो केही मिनेटमै नियन्त्रणमा लिइएको प्रहरीले भनेको छ। मन्त्रालयका केही कागजातहरू जलेको छ।  घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बिहान पौने ९ बजे  भौतिक मन्त्रालयसँग जोडिएको यो मन्त्रालयको भवनको चौथो तलामा आगलागी भएको थियो ।