विराटनगर- खोटाङको धार्मिकस्थल हलेसी बजारमा भएको आगलागी करिब पाँच घण्टापछि नियन्त्रणमा आएको छ । 

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी बजारका पदम राईको भान्छा कोठाको ग्यास सिलिन्डरबाट साँझ ६ तिर सुरु भएको आगो स्थानीयवासी र सुरक्षा निकायको  प्रयासमा आइतबार राति करिब ११ बजे निभाइएको हो । 

आगलागीबाट राईको घर तथा घरमा सञ्चालित हार्डवेयर पसल, निर्धन उत्थान लघुवित्तको कार्यालय, आइराज राई र प्रकाशचन्द्र गिरीको घरमा क्षति पुगेको छ । आगलागीमा मानवीय क्षति नभए पनि ठूलो मात्रामा धनमाल जलेर नष्ट भएको स्थानीयले बताएका छन् ।  

सुक्खाग्रस्त क्षेत्र हलेसीमा भएको आगो निभाउन पानी अभाव भएकाले समस्या भएको इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक हेमन्त राईले बताए । ‘दुई घर पूर्ण तथा एउटामा आंशिक क्षति भएको छ,'  उनले भने ।  करिब  एक करोड रुपैयाँ बढीको धनमाल क्षति भएको अनुमान गरिएको उनले बताए ।

राईको घरमा खाना पाकिरहेको बेला ग्यास सिलिण्डर लिक भएर  सुरु भएको आगो दमकल अभावमा तत्कालै नियन्त्रण गर्न नसक्दा ठूलो क्षति भएको स्थानीय सयन्द्र राईले बताए । आगो निभाउन जिल्लाबाट तीनटै सुरक्षा निकायका टोली हलेसी पुगेको थियो ।