विराटनगर– नाबालिकालाई यौन व्यवसाय लगाएको आरोपमा एक स्पा सञ्चालिकालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ–२६ ठमेल सातघुम्तीस्थित हिमालयन नेचुरल स्पाका संचालिका ४१ वर्षीया स्मृति भन्ने रमिला गौतमलाई प्रहरीले नियन्त्रणमा लिएर अदालतमा उपस्थित गराइसकेको छ । 

काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका–५ की गौतम विरुद्ध पीडितले उजुरी दिएको केन्द्रीय प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सुरुमा उनलाई उक्त स्पामा पार्लरको काम गराउने भनेर राखिएको थियो । धेरै कमाइने भनी आर्थिक प्रलोभनमा पारी स्पाभित्र जबरजस्ती यौध धन्दामा लगाएको प्रहरीले जनाएको छ ।

काठमाडौं नजिकैको एक गाउँको विपन्न परिवारकी ती बालिका जीविकोपार्जनका लागि सामान्य काम खोजीमा थिइन् । तर इच्छा विपरित शरीर बेच्ने काममा लगाए पछि आत्मसम्मानमा चोट पुगेर मानसिक तनावमा थिइन् । स्पा सञ्चालिकाको ज्यादति नरोकिए पछि पीडित बालिकाले प्रहरीलाई गुहारेको उजुरीमा उल्लेख छ । 

पीडितले मसाजका लागि आउने ग्राहकहरूमध्ये एक असल व्यक्ति मार्फत प्रहरीमा उजुरी दिएकी थिइन् । उक्त उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उक्त स्पामा छापा मारेको थियो । रमिलालाई तत्कालै पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिएर प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।