सिरहा – सिरहाको औरही–५ मा महायज्ञका नाममा दलित परिवारको घरमा डोजर लगाएर उठीबास गराउने घटनामा संलग्न गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्ववडाध्यक्ष दिलीप यादव र आयोजक बजरंगी बाबामाथि कानुनी प्रक्रिया अघि बढ्दा पीडित परिवारलाई मिलापत्रका लागि धम्की र प्रलोभन दिने क्रम बढेको छ । धम्की बढेपछि त्रसित पीडित परिवार लुकेर बस्न बाध्य भएको छ।
दोषीमाथि कानुनी कारबाही, आयोजक अझै फरार
स्थानीय दीपक मलिकको घर भत्काउनुका साथै त्यस स्थानको माटो ‘अपवित्र’ भएको भन्दै ताछेर फाल्ने घटनाका मुख्य आरोपी गाउँपालिका अध्यक्ष यादव र पूर्ववडाध्यक्ष यादवलाई प्रहरीले पक्राउ गरेको छ भने आयोजक बजरंगी बाबा अझै फरार छन् ।
जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी कसुरमा उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उक्त कसुरमा दोषी ठहर भए ३ महिनादेखि ३ वर्षसम्म कैद र ५० हजारदेखि २ लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।
सिरहा जिल्ला अदालतले आइतबार आरोपीहरूलाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँच दिनको म्याद दिएको छ । मलिक परिवारले जिल्ला प्रहरी कार्यालय सिरहामा गाउँपालिका अध्यक्ष, पूर्ववडाध्यक्ष र बजरंगी बाबाविरुद्ध किटानी जाहेरी दिएका छन् । प्रहरीले फरार बाबालाई चाँडै पक्राउ गर्ने दाबी गरेको छ ।
न्यायको साटो संरक्षण : जसपा नेपाल विवादमा
गाउँपालिका अध्यक्ष यादव जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता हुन् । उनलाई थुनामुक्त गर्न माग गर्दै जसपा नेपाल सिरहा जिल्लाले आइतबार प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । जसपा जिल्ला अध्यक्ष अशोककुमार यादव नेतृत्वको टोलीले यदि यादवलाई नछोडे आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ । यस विषयमा चर्को आलोचना भएपछि जसपा केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले सामाजिक सद्भाव भड्काउने गतिविधि गलत भएको भन्दै विज्ञप्ति जारी गरेका छन् ।
पीडितलाई बयान फेर्न दबाब
पीडित परिवारलाई बयान फेर्न धम्की र प्रलोभन दुवै दिने क्रम जारी छ । पक्राउ परेका अध्यक्ष यादवका छोरा रुकेश यादव, ज्वाइँ इन्द्रदेव यादव लगायतले दीपक मलिकलाई भेटी एक कट्ठा नम्बरी जग्गा, पक्की घर, खानेपानी र बिजुलीको सुविधा दिने प्रलोभनसहित मिलापत्र गर्न आग्रह गरेको खुलेको छ । तर दीपकले कुनै प्रतिक्रिया नदिइ उम्किन सफल भएको बताएका छन् । हाल उनी आफन्तको घरमा लुकेर बसेका छन् ।
महायज्ञस्थल छेउकै घर उठीबास
चैत १७ देखि हुने भनिएको महायज्ञका लागि बनाइँदै गरेको मण्डपनजिकै मलिक परिवारको घर थियो। पाँच वर्षअघि जनता आवास कार्यक्रमअन्तर्गत बनेको उक्त घर ३० वर्षदेखि मलिक परिवारको बसोबासमा थियो । घटनालगत्तै मलिक परिवारलाई ५ सय मिटर पर खोलाछेउको एकान्त स्थानमा सारिएको छ, जहाँ न बिजुली छ, न खानेपानी । पीडित दीपक र उनकी श्रीमती अनिता मलिक गाउँपालिकामै मजदुरी गर्दै आएका थिए, तर धम्कीका कारण अहिले काममा जान सकिरहेका छैनन् ।
संघीय तहसम्म चासो, सांसदहरूद्वारा छानबिनको माग
घटनाले चौतर्फी प्रतिक्रिया निम्त्याएको छ । संघीय संसद र मधेश प्रदेश सभाका सांसदहरूले घटनाको विरोध गर्दै दोषीमाथि संसदीय छानबिन गर्न माग गरेका छन् । विभिन्न संघसंस्थाले पनि घटनाप्रति भत्र्सना जनाउँदै दलितमाथि ज्यादती गर्नेहरूलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् ।
राज्यको दायित्व र प्रहरीको प्रतिबद्धता
पूर्वसांसद सुरेशचन्द्र दासले दलित समुदायमाथि भएको यो अमानवीय व्यवहारप्रति गम्भीर ध्यानाकर्षण गराएका छन् । उनले पीडितको संरक्षण गर्नु राज्यको दायित्व भएको बताए । सिरहा प्रहरी प्रमुख एसपी रमेश पण्डितले अनुसन्धानलाई कुनै पनि बाह्य प्रभावबाट प्रभावित हुन नदिने प्रतिबद्धता जनाएका छन् । दलित समुदायमाथि भएको यो घटना नेपालमा जातीय विभेदको जिउँदो प्रमाण बनेर उभिएको छ । दोषीलाई कानुनी दायरामा ल्याएर पीडितलाई न्याय दिन राज्य कति सफल हुन्छ भन्नेमा सबैको चासो बढेको छ ।