विराटनगर– प्रधानमन्त्री केपी शर्मा ओलीले निरंकुश शासनसँग लोकतन्त्रको तुलना पनि हुन नसक्ने बताएका छन् । जहानियाँ शासनले आफ्नो अभिजातीय विलासका लागि बनाएको संरचनाको तुलना वस्तुगत र तथ्यगत नहुने बताएका छन् ।

७५ औं प्रजातन्त्र दिवसमा बुधबार टुँडिखेलस्थित सैनिक मञ्चमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्ने क्रममा राणा र राजाको शासन कस्तो थियो भन्ने प्रष्टयाउन उनले बढी समय खर्चिए । पछिल्लो क्रममा लोकतन्त्र प्रति देखिएको नागरिकको निराशालाई उनले संवोधन गर्ने प्रयास गरेका छन् । उ बेलाको शासन राम्रो थियो भन्ने बन्न लागेको जनमत प्रति उनी सतर्क र सावधान देखिए ।  ‘यसलाई आजको पुस्ताले असान्दर्भिक तुलनाबाट होइन, विवेकको तराजुमा राखेर तौलनु पर्दछ,’ प्रधानमन्त्री ओलीले भने ।

उनले प्रजातन्त्रको उज्यालोमा हुर्किएको, अत्याधुनिक सूचना प्रविधि मार्फत अनलाइन सेवा लिने बानी परिसकेको आजको पुस्ताका लागि हिजोको शासनको त्यो क्रूरता कथा मात्रै बनेको बताए । ’पुस्तान्तरको समयचापले कहिलेकाहिँ न्यानो दिनमा रहेका बेला समाजले त्यस कालरात्रिको क्रूर स्मृतिलाई गुमाउन पुग्छ र भन्छ, ‘प्रजातन्त्रले के गरेको छ ? ! त्यसले त अझै राणाकालका दरबारहरूबाट निर्वाह गरिरहेको छ ?,’ उनले भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्खाले भोगेको हन्डरले परिवर्तन भएको बताउँदै नयाँ पुस्ताले इतिहासलाई बिर्सन नहुने बताएका छन् । ‘जहानियाँ शासकले सन्तानका लागि दरबार बनाए । जनताका लागि प्रजातन्त्रले सडक बनायो, पुल बनायो, कुलो बनायो, विजुली व्यापार केन्द्र र विद्यालय बनायो’, प्रधानमन्त्री ओलीले भने ।

उनले नागरिकको जीवन बदल्न प्रजातन्त्रमा बनेका संरचनाको राणाले सन्तानका लागि बनाएका संरचनासँग तुलना हुननसक्ने भन्दै विवेकको तराजुमा राखेर तौलिनुपर्ने बताए । उनले अहिले देशमा समग्ररुपमा विकास भइरहेको बताउँदै विकासोन्मुखबाट विकासशीलतिर अघि बढेको दाबी गरे । बढ्दो जनआकांक्षा र चुनौतीबीच पनि लय मिलाएर संगतीपूर्ण रुपमा सरकार अघि बढेको उनको भनाइ छ ।

त्यसकारण भविष्यका रूपमा उदाउँदै गरेको भोलिको पुस्ताले आजको दिन बिर्सनै नमिल्ने प्रधानमन्त्री ओलीले बताए । ’फागुन ७ गतेले हाम्रो, खेर गएको सिंगो शताब्दिको स्मरण गराउँछ । विज्ञान–प्रविधिमा संसारले फड्को मारिरहँदा नेपालमा भने जहानियाँ शासकको एउटा सनकी आदेशले अन्वेषणमा लाग्ने प्रतिभाको हात काटिएको घटनाको स्मरण गराउँछ । सत्य-तथ्य बोल्नेको जिब्रो थुतेर पातमा राखिएको, आँखा फोरिएको र नव प्रवर्तनमा लाग्नेहरुको जात काडिएको जस्ता पिडादायी घटनाहरुको याद गराउँछ,’ उनले भने ।