विराटनगर– आकर्षक तलबको लोभ देखाएर सिंगापुर र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुईलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा काठमाडौँ–२ लाजिम्पाट बस्ने धादिङ त्रिपुरासुन्दरी–७ का ३७ वर्षीय सरन थापा र काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–९ पेप्सीकोला बस्ने इलाम सूर्योदय नगरपालिका–१० का ३२ वर्षीय मिकेश सुवेदी छन् ।
सरनले सिंगापुर पठाइदिने भनेर १३ जना पीडितहरूबाट ७१ लाख १९ हजार रूपैयाँ र मिकेशले चेक रिपब्लिक मिलाइ दिने भन्दै १ जना पीडितबाट २ लाख ५० हजार रूपैयाँ लिएर सम्पर्कविहीन भएका थिए । पीडितहरुको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले सरनलाई सोमबार र मिकेशलाई मंगलबार पक्राउ गरेको हो ।
उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।