विराटनगर– थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले म्यानमारको मेवाडीबाट उद्धार गरी पाँच नेपालीलाई शुक्रबार स्वदेश फर्काएको छ ।
ती नेपालीहरुलाई जर्बजस्ती अनलाइन स्क्यामिङ गतिविधिमा लगाइएको दूतावासले जनाएको छ । नेपाल फर्काइएका चार पुरुष र एक महिला छन् । ‘अनलाइन स्क्यामिङमा लगाइएका नेपाली नागरिकहरूलाई थाइल्यान्ड सरकारको सहयोगमा म्यानमारको मेवाडीबाट उद्धार गरी टाक इमिग्रेसन अफिस मेसोट हुँदै थाइल्यान्ड ल्याई नेपाल फर्काइएको छ,’ दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
उक्त दूतावासले नेपाल सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान अनुरोध गरेको छ । विज्ञप्तिमा भनिएको छ,‘कसैको प्रलोभनमा परी छिटो धेरै पैसा कमाउने हेतुले कम्बोडिया, लाओस, म्यानमार र थाइल्यान्डलगायतमा नआउनका लागि सबैमा पुनः अनुरोध छ ।’