विराटनगर– भारतको उडिसा राज्यको भुवनेश्वरस्थित कालिंगा ईन्सिटच्युट अफ ईन्डष्ट्रीयल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयकी छात्रा प्रकृति लम्सालको मृत्यु र उक्त घटनाविरुद्ध आवाज उठाउँदा भएको दुरव्यवहारका कारण अध्ययन छोडेर घर फर्किन बाध्य भएको विरोधमा विराटनगरमा मानवअधिकारकर्मीहरुले शुक्रबार प्रदर्शन गरेका छन् ।
कोशी प्रदेशका मावअधिकारकर्मीहरुले प्लेकार्ड बोकेर उक्त घटनाको विरोधमा प्रदर्शन गरेका थिए । प्रदर्शनपछि आयोजित कोणसभामा राजनीतिक विश्लेषक कृष्ण पोखरेलले प्रकृती लम्सालप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको मृत्यु घटनाको निष्पक्ष, न्यायिक छानविन गर्न माग गरेका थिए । उनले मृत्यु घटनाको विरोध गरेकै कारण विश्वविद्यालय प्रशासनले नेपाली विद्यार्थीहरुमाथि कुटपिट गर्नुका साथै रेल्वेस्टेशनमा ल्याएर घर पठाउने कार्य निन्दनीय भएको बताए । नेपाली विद्यार्थीहरुलाई सुरक्षित तथा भयरहित वातावरणमा अध्ययन गर्ने अवस्था निर्मा गरी विश्वविद्यालय फर्किने वातावरण बनाउन भारत सरकार र नेपाल सरकारसँग माग गरेका छन् ।
कोणसभामा मानवअधिकारकर्मी दिनेश श्रेष्ठ, महिला मानव अधिकार रक्षक सञ्जालकी कोषाध्यक्ष मञ्जिता उपाध्याय, गैसस महासंघकी उपाध्यक्ष सरीता खनाल, ओरेककी प्रदेश प्रमुख शोभा बजगाई लगायतले घटनाको निष्पक्ष न्यायिक छानविन र नेपाली विद्यार्थीको पठनपाठनको उचित व्यवस्था मिलाउन माग गरेका थिए ।