काठमाडौँ — इन्टरपोलको रेड नोटिस सूचीमा रहेका जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी रबिन तामाङ बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।

दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका–५ सुरी डाँडाटोल स्थायी ठेगाना भएका तामाङ साउदी अरबबाट काठमाडौँ आइपुग्ने क्रममा इन्टरपोल शाखाबाट खटिएको प्रहरी टोलीले विमानस्थलमै पक्राउ गरेको हो।

उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय दोलखाको अनुरोधमा इन्टरपोल महासचिवालयले सन् २०२३ अगस्ट २१ मा रेड नोटिस जारी गरेको थियो। तामाङ जबरजस्ती करणी अभियोगमा फरार रहेका थिए।

पक्राउ परेका तामाङलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि प्रहरी वृत्त गौशाला पठाइएको नेपाल प्रहरी प्रधान कार्यालय, इन्टरपोल शाखाले जनाएको छ।