विराटनगर- नेकपा (माओवादी केन्द्र) ले सोमबारदेखि झापाको कचनकबलबाट हुलाकी राजमार्ग केन्द्रीत तराई-मधेस जागरण अभियान सुरू गर्दैछ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड' नेतृत्वमा हुने यो वृहत अभियानमा जनसभा, चोकसभा, अन्तरक्रिया, जनभेटघाट लगायतका कार्यक्रम हुने माओवादी केन्द्रले बताएको छ।

टोलीमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव र उपमहासचिवहरूका साथै सांस्कृतिक टोली सामेल छन् । सम्बन्धित प्रदेश, जिल्लाका पार्टी नेता, जनवर्गीय संगठनका नेताहरू पनि सहभागी हुँदैछन् ।

कोशी प्रदेशमा झापा, मोरङ, सुनसरी, मधेसमा सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सामा कार्यक्रम हुनेछ। 

बागमती चितवन, गण्डकीमा नवलपुर, लुम्बिनीमा नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बर्दिया, बाँकेमा कार्यक्रम हुनेछ। सुदूरपश्चिम प्रदेशमा कैलाली र कञ्चनपुरमा कार्यक्रम गरिने माओवादी केन्द्रले जनाएको छ। जागरण अभियान  चैत ७ गते कञ्चनपुर पुगेर सकिनेछ।

अभियानमार्फत माओवादी केन्द्रले मुलुकको राष्ट्रिय राजनीतिक परिस्थिति र पार्टीको नीति कार्यक्रमलाई जनस्तरसम्म पुर्‍याउने, पार्टीलाई जनतासँग जीवन्त रूपमा जोड्ने, पार्टी संगठनलाई स्थानीयस्तरसम्म विस्तार गर्ने, जनताबाट सुझावहरू संकलन गर्ने, जनता र पार्टी नेतृत्वबीच सम्बन्ध विस्तार गर्ने लगायतका उद्धेश्य राखेको छ।

गत पुसको २१ गतेदेखि २३ सम्म बसेको केन्द्रीय समिती बैठकले अभियानको थालनी गर्ने निर्णय गरेको थियो। 

लगत्तै वैशाखमा पुष्पलाल मध्यपहाडी राजमार्गकेन्द्रित पूर्व–पश्चिम जागरण अभियान गर्ने पनि माओवादी केन्द्रले तयारी गरेको छ।