विराटनगर– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले र कांग्रेस गठवन्धनले जनमुखी काम नगर्दा पछिल्लो समय पश्चगामी तत्वले टाउको उठाउन खोजेको आरोप लगाएका छन् । 

नेकपा एकीकृत समाजवादी मोरङको नवौँ जिल्ला अधिवेशनलाई मंगलबार विराटनगरमा उद्घाटन गरेपछि अध्यक्ष नेपालले पुष्पकमल दाहाललाई धोका दिएर बनेको यो गठबन्धनलाई कुटिलको संज्ञा दिएका हुन् । उनले दुई दलीय गठबन्धन सरकारले संविधान संशोधनको नाटक मात्रै गरेको आरोप लगाए । नेकपा एमाले र कांग्रेसको स्वार्थको मेल भएर एमाले–कांग्रेस एक भएको भन्दै सरकारको नियत ठीक नभएको अध्यक्ष नेपालको भनाई थियो । 

वर्तमान सरकार घुसखोरी, भ्रष्टाचारी र दलालको संरक्षणमा लागेको भन्दै सरकारले जनतामा निराशा बाहेक केही दिन नसकेको उनले आरोप लगाए । ‘दल र नेताहरूले त्रुटि, कमजोरीलाई जोगाएर हैन, सुधारेर अघि बढ्नु पर्छ,’ उनले भने, ‘वंशनास गर्नेहरूलाई फेरी ल्याएर पुनः दास बन्ने बाटोतिर नलाग्न आग्रह छ ।’

सयौँ वर्ष राजा र राणाले देशलाई लुट्ने, चुस्नेबाहेक कुनै काम नगरेको आरोप लगाउँदै अध्यक्ष नेपालले  फेरी जनता यस्तै लुटेरा, हत्याराको पछि किन लाग्नु पर्‍यो भन्दै प्रश्न गरेका थिए । तीनकुनेमा राजावादीको उदण्डता र समाजवादी मोर्चाको सभाबाट वास्तविकता उजागर भएको बताए ।