विराटनगर– पाका उमेरकामध्ये विद्यालय जीवनमा चूडामणि गौतमले लेखेको अंग्रेजी व्याकरण नपढ्ने कमै होलान् । अंग्रेजी शिक्षकलाई कुन लेखकको ग्रामर किन्ने भनेर सोध्दा ‘चूडामणि गौतमको’ सोझो जवाफ आउँथ्यो । सबै वर्ग र उमेरका माझ परिचित भाषाविद् गौतमको ८१ वर्षको उमेरमा सोमबार उपचारको क्रममा काठमाडौँ मेडिसिटी अस्पतालमा निधन भएको छ ।

विस २००० को असोज १ मा तेह्रथुमको खाम्लालुङ– १, पाकतिन (हाल आठराई) जन्मिएका उनलाई भाषिक तथा शैक्षिक उत्थानका अगुवा मानिन्थ्यो । उनी ‘ग्रामर गुरु’ भनेर प्रसिद्ध थिए । 
नेपाली भाषाको मानकीकरण, शब्द र विशेषणको सामयिकीकरण तथा शब्दकोश बनाउनमा उनको योगदान स्मरणीय छ  विद्यालय तहदेखि विश्वविद्यालयसम्म ‘गौतमको अंग्रेजी व्याकरण’ पढिन्छ । गौतमले व्याकरण, हिज्जे, शब्दकोशसहितका एक सयभन्दा बढी पुस्तक लेखेका छन् । 

उनले २०३७ सालमा पहिलो ‘गौतम नेपाली व्याकरण’ बजारमा ल्याएका थिए । यसलाई नेपालमा सबैभन्दा बढी बिक्री भएको कृति मानिन्छ । २०७९ भदौ ११ मा विमोचित ‘बृहत्तर नेपाली शब्दकोश’ उनको पछिल्लो पुस्तक हो । त्यसअघि गौतमले ‘विवादित वर्णविन्यासको नेपाली शब्दकोष’ पनि सार्वजनिक गरेका थिए ।  उहाँको नेपाली व्याकरण तथा रचना, विद्यालय नेपाली शब्दकोश, अक्षरको उच्चारण गर्ने यसरी, बृहत्तर नेपाली शब्दकोश, शुद्ध नेपाली लेख्ने यसरी, हायर लेभल इंगलिस ग्रामर, कम्पोजिसन एण्ड प्रोनाउन्सेसन, राम्रो अंग्रेजी बोलचाल अभ्यासलगायत नेपाली र अंग्रेजी व्याकरणसम्बन्धी पुस्तक चर्चित छन् । 

गौतमको १४ सय पृष्ठको गौतम एड्भान्स्ड लर्नर्स डिक्सनरी, नेपाली–इंगलिस डिक्सनरी, राम्रो अंग्रेजी बोलचाल अभ्यास, गौतम व्यावहारिक नेपाली शब्दकोश, विवादित वर्णविन्यासको नेपाली शब्दकोश, नेपाली शब्दको दुर्दशा, फुलको माला क्या मज्जा, नेपाली शुद्धाशुद्धि ज्ञान, नेपाली व्याकरण तथा रचना, विद्यालयको नेपाली शब्दकोश, बृहत्तर नेपाली शब्दकोश लगायतका भाषा सम्बन्धी पुस्तक प्रकाशित छन् । 

तेह्रथुममा जन्मेर विराटनगर हुँदै काठमाडौंमा भाषा–व्याकरण तथा वर्णविन्यासको मानकीकरणमा लागिपरेका अभियन्ता गौतमले  प्रकाशनमा ल्याएको ‘बृहत्तर नेपाली शब्दकोश’ लाई भाषाविज्ञानका जानकारले ‘शुद्ध र सही वर्णविन्यासको बहुमुल्य कृति मान्छन् । करिब ८७ हजार शब्दको प्रविष्टिसहित आएको उक्त शब्दकोशलाई भाषाविद्हरुले नेपाली भाषालाई वर्णविन्यासका विकृतिको आत्मघाती अराजकताबाट मुक्त गराउने बृहत्तर संकल्प र सामथ्र्यले युक्त भनेर प्रशंसा गर्छन् ।