विराटनगर– मन मिले पछि एक पुरुषसँग सम्बन्ध बनाउँछिन् । केही समय पछि दुवै बीच मनमुटाउ सुरु हुन्छ । त्यस पछि सदाका लागि मुक्ति पाउन श्रीमानको सहयोग लिएर प्रेमीको हत्या गर्छिन् । यति अक्षम्य अपराध उनले केवल अतिरिक्त वैवाहिक सम्बन्ध ढाकछोपका लागि गर्छिन् ।
श्रीमानसँग मिलेर प्रेमीलाई बन्चरो प्रहार गरी हत्या गरेको आरोपमा ती महिलालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । धनुषाको कमला–६ सिग्याही मडानका ३३ वर्षीय शाहिद अन्सारीको गत मंसिर २७ मा हत्या भएको थियो । यही हत्याको अनुसन्धान गर्ने क्रममा संलग्नता देखिए पछि मिथिला बिहारी–६ सिरसियाकी २४ वर्षीया अनिता कुमारी यादवलाई प्रहरीले पक्राउ गरेको हो । यादवलाई धनुषा जिल्ला अदालतबाट म्याद थप गराएर अनुसन्धान अघि बढेको छ ।
अर्का आरोपित अनिताको श्रीमान राजकिशोर यादव हत्या पछि वैदेशिक रोजगारीका लागि सउदीअरबिया पुगेका छन् । अन्सारीलाई हत्या गर्ने योजनाका साथ उनी २०८१ मंसिर १५ मा घर आएको प्रहरीको भनाइ छ । आरोपित यादवलाई नेपाल ल्याउने प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
अन्सारीको शव पुस ४ मा जनकपुर–धनुषाधाम सडक खण्डअन्तर्गत खैरा खोलाको पुलमुनि भेटिएको थियो । अन्सारी मंसिर २६ मा कतारबाट नेपाल फर्केका थिए । अन्सारी घर नगइ प्रेमिका अनितालाई भेट्न मिथिला बिहारी–६ सिर्सिया पुगेका थिए ।
अन्सारीलाई घरमै बन्धक बनाएर मंसिर २७ को दिउँसो ११ बजे सुत्ने कोठामा बन्चरो प्रयोग गरी हत्या गरिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अनिताले पहिले नै श्रीमानसँग मिलेर अन्सारीको हत्या गर्ने योजना बनाएकी थिइन् ।
यो षडयन्त्र अनुरुप अनिताले अन्सारीकी श्रीमती बिरामी रहेको झुटो मेडिकल रिपोर्ट तयार पारी साउदी पठाएकी थिइन् । त्यही रिपोर्टका आधारमा अन्सारी आकस्मिक विदा लिएर नेपाल फर्किएका थिए । घर पुग्न नपाउँदै उनको हत्या भएको थियो । अन्सारी र अनीताबीच सहमती सम्बन्ध रहेको देखिएको छ । श्रीमानले थाहा पाए पछि आफूलाई जोगाउन अनीताले अन्सारीले फसाएको भन्दै हत्याको जालो बुनेकी देखिएको छ ।
धनुषा प्रहरीका डीएसपी बरुण सिंहका अनुसार अनीताले अहिले हत्या गरेको मात्र स्वीकारेकी छन् । ‘मन मिले पछि अन्सारीसँग सम्बन्ध राखेको अनीताले भनेकी छन्,’उनले भने,‘पछि अन्सारीसँग खटपट सुरु भएको प्राम्भिक अनुसन्धानमा अनीताले सुनाएकी छन् तर उनीहरुबीच द्धन्द्धको कारण भने खुलाएकी छैनन् ।’ अनीताको श्रीमानलाई पक्रेर ल्याइ सके पछि यौन सम्बन्ध पछि भएको यो हत्याको कारण खुल्ने डीएसपी सिंहले बताए ।